प्रस्तावित रंगशालाविरुद्ध उत्रिए भक्तपुरवासी


हरिसुन्दर छुकां, भक्तपुर
भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रंगशालाको विरोधमा भक्तपुरवासी एक भएका छन् । कृषिका लागि निक्कै उपयोगी मानिएको भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा बनाउने भनेर प्रस्ताव भएपछि सो क्षेत्रका स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

सो क्षेत्रका स्थानीय तथा किसानहरुलाई उठिबास गराउन रंगशाला बनाउन लागिएको भन्दै त्यस विरुद्ध आन्दोलन गर्न गठन भएको रंगशाला निर्माण पीडित संघर्ष समितिले शुक्रबार सूर्यविनायक नगरपालिका, नगर विकास प्राधिकरण र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विरोध पत्र बुझाए ।

‘युवा तथा खेलकुद मन्त्रीको निर्देशनमा सूर्यविनायक नगरपालिका वडा नं. १०, भकारी मूलमा करिब एकहजार रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने कुराले हामी आतंकित भएका छौं, हामीले चुनेर पठाएका वडाध्यक्षदेखि सांसदसम्मले हामीलाई उठिबास गराउन खोजेको छ । त्यहीकारण हामी विरोधमा उत्रिएका हौं ।’ संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भकारी मूलका एक स्थानीयले भने ।

उनीसँगै विरोध कार्यक्रममा सहभागी सरिता देउजाले पनि जनताहरुको गाँस, बास र कपास, घरखेत सबै खोस्ने गरी रंगशाला बनाउन लागिएको थाहा भएपछि आफूहरु निक्कै तनावमा रहेको बताइन् । उनले भनिन्, ‘ जनताहरुको भएको खेतीयोग्य जमिन र घरलाई विस्थापित गरेर विकासको नाममा विनासको नाममा विनास गर्न खोजेको छ । यस्तो कार्यले हामी जनताहरुलाई सह्य हुँदैन ।’ उनले भनिन् ।

विरोधमा आएका उनीहरुमध्ये स्थानीय रघुवीर कार्कीले सूर्यविनायक नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले जनतालाई थाहा नै नदिइ जनता अल्मल्याउने काम गरेको बताए । उनले भने, केही निश्चित भूमाफियाहरुको हितको लागि हामी सयौं जनताको चाहना विपरीतको काम गरी हामीलाई दुःख दिने काम हुन लागेको छ, एकदुईजना सांसदको लहडमा रंगशाला बनेको हामी पनि त्यसको प्रतिकार गर्छौं ।’

विरोधमा आएका उनीहरुले आफ्नो ठाउँमा रंगशाला बनाउने विषयमा वडाध्यक्ष र जनप्रतिनीधिहरुले एकपटक पनि छलफल नगरी पक्षपातपूर्ण काम गरेको आरोप पनि लगाएका थिए । उनीहरुले मन्त्री, सांसददेखि वडाध्यक्षसम्मले जर्बजस्ती तथा जन चाहनाविपरीत काम गरेको खण्डमा जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताएका थिए ।

संघर्ष समितिका संयोजक शिवशरण कार्कीले रंगशाला निर्माण गर्न गठित कार्यदलको काम तत्काल खारेज गर्न माग गरेका थिए । त्यतिमात्र नभएर उनले गत १८ गतेको निर्णयमा कित्ताकाट, नक्सापास रोक्का गरेको विषयलाई पनि तत्कालै खारेज गर्न माग गरे ।
विरोधमा आएका उनीहरुले चित्तपोलको भकारी मूलमा रंगशाला बने ५ सयदेखि एकहजार घरधुरी विस्तापित हुने तथा १५ सयदेखि २ हजार जनताको खेतीयोग्य जमिन विनास हुने बताए ।