ग्वार्डिओलाको बार्सिलोना फर्कने इच्छा


लन्डन, (एजेन्सी)
बार्सिलोनाका पूर्वप्रशिक्षक तथा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् ।
तर उनले सिनियर टोलीको नभई बार्सिलोनाको एकेडेमी ला मासियामा प्रशिक्षक बन्न चाहेको इच्छा ब्यक्त गरेका हुन् । ग्वार्डिओलाले ला मासिया फर्कने कुरालाई स्वीकार समेत गरेका छन् । युनिभर्सो भाल्डानोसँग कुरा गर्दै उनले भने,–‘मैले जहाँबाट करियरको सुरुवात गरेको थिएँ त्यही नै अन्त्य गर्छु । त्यसैले मेरो प्रशिक्षण करिअरको अन्त्य बार्सिलोनाको ला मासियाबाट हुनेछ ।’
उनले सन् २००७ देखि २००८ सम्म बार्सिलोना बी को व्यवस्थापन सम्हालेका थिए । त्यसपछि सन् २०१२ सम्म बार्सिलोनाको सिनियर टिमको व्यवस्थापन गर्दै उनले क्लबलाई थुप्रै उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए ।