थुतेन लामा, मनाङ
चुनाव जितेपछि आफ्ना मतदातालाई बिर्सने नेताहरुको बानी हुन्छ । निर्वाचनपछि आफ्नो क्षेत्र नफर्किएको धेरै उदाहरण छन् । कतिपय नेता त चुनाव अघि विभिन्न आश्वासन दिन गाउँगाउँ डुल्ने नेताहरु चुनाव जितेपछि जनतामाझ कमै पुग्छन् । तर मनाङमा नेपाली कांग्रेसका सांसदहरु भने यति बेला गाउँगाउँ डुलेर जनतासँग साक्षात्कार गरी रहेका छन् । उनीहरुका गुनासा सुन्ने र आफ्नो तर्फबाट हुन सक्ने कुराको प्रतिबद्धता जनाइरहेका छन् ।
नेपाली कांग्रेस मनाङका नेता तथा संघीय संसदका सदस्य कर्म घले र गण्डकी प्रदेशका सांसद चिन्ताबहादुर घले यति बेला मनाङका विभिन्न भागमा घुम्दै जनताका पीर मर्का बुझ्दै छन् । निस्याङ गाउँपालिका–९ माथिल्लो मनाङको भ्रमण सकेर उनीहरु तल्लो मनाङ फर्किए । निस्याङ गाउँपालिकामा सांसदहरुले मतदाताका अलवा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुसँग त्यस क्षेत्रका समस्याका बारेमा छलफल गरेका छन् । उनीहरुले त्यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकासका लागि स्थानीय सरकारबाट हुन सक्ने काम गर्न र संघ तथा प्रदेशबाट हुन सक्ने कामका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेताहरुसँग जनताका अपेक्षा पनि धेरै हुन्छन् । अझ ग्रामीण र दुर्गम भेगका जनताका समस्याका पोका अन्यत्रको तुलनामा धेरै हुनु स्वाभाविक पनि हो । त्यसमाथि मनाङ जिल्ला हिमालपारीको दुर्गम जिल्ला भएकाले विकासको दृष्टिकोणले निकै पछि छ । जिल्लाको विकास निर्माणका लागि विभिन्न स्थानमा स्थानीयले सांसदहरुलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
जनतासँगको भेटमा सांसदद्वयले आफ्ना लागि मत दिएकामा फेरि पनि धन्यवाद दिएका छन् । उनीहरुले सिंगो मनाङको विकासका लागि आफूहरु सदैव लागि पर्ने भन्दै मनाङको विकासका लागि पूर्वाधार र पर्यटनको विकासमा आफूहरुले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।











प्रतिक्रिया