नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ का उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालले बनलाई उद्योग, पर्यटन क्षेत्रसँगै आर्थिक, सामाजिक, साँस्कृतिक पक्षसँग जोड्नुपर्ने बताउनुभएको छ ।
आदिवासी जनजाति समुदायका लागि लक्षित अनुदान संयन्त्र सम्बन्धि प्रदेश–३ को हेटौंडामा भएको २ दिने प्रादेशिक गोष्ठीमा उहाँले उत्पादनमूलक फलफूलका बिरुवा रोपण र विकासमा जोड दिनुपर्ने बताउनुभयो । बनले जनताको जीवनलाई उकास्नेतिर सोच्नुपर्नेमा जोड दिँदै उहाँले बन संरक्षण गरेबापत् विश्व बैंकले दिने रकमले जनतामा आउने ठोस परिवर्तनबारे पहिल्यै टुंगो लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष डा. पासाङ शेर्पाले विश्व बैंकमार्फत् नेपालले अनुदान र ऋण प्राप्त गर्ने बताउनुभयो । विश्व बैंकले दिने रकमबाट पाँच वटा परियोजना तयार भइरहेको जानकारी दिँदै रेड कार्यान्वयन केन्द्र, काठमाडौंका उपसचिव अजय मानन्धरले अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।
लक्षित अनुदान संयन्त्र प्रादेशिक गोष्ठीमा सहभागीले लक्षित अनुदान कार्यक्रममा बनमा आश्रित भएका जनजाति, स्थानीय, महिला, दलित, मधेसीलगायत समुदायको स्तरोन्नतिका लागि मुख्य भूमिका खेल्ने बताएका थिए ।
बन क्षेत्रमा अझै पनि ३१ प्रतिशत भन्दा बढी आदिवासी जनजाति आश्रित रहेको र कतिपय आदिवासी जनजातिको जग्गा बनले अधिग्रहण गरेर जग्गाबिहीन बनाएको भन्दै नेपाल बन लगानी कार्यक्रमअन्तर्गत् सञ्चालित हुने लक्षित अनुदान कार्यक्रमले त्यस्ता जनताको स्तरोन्नतिमा भूमिका खेल्नसक्ने बताइयो ।
परापूर्व कालदेखि नै आदिवासी जनजातिहरु बनमा आश्रित भएको इतिहास रहेको र हाल पनि कतिपय अधिकांश जनजाति, महिला, दलित, मधेसीलगायत बननजिक रहेका स्थानीय बनमै निर्भर रहेर जीवीकोपार्जन गर्न बाध्य भएकाले लक्षित अनुदान कार्यक्रमले त्यस्ता समुदायको स्तरोन्नति र उनीहरुको मौलिक पेशालाई ब्यावसायीकतातर्फ उन्मुख गराउनुपर्नेमा जोड दिइयो ।
आदिवासी जनजाति र स्थानीय समुदायलक्षित, विश्व बैंकको सहयोगमा विश्वका १४ मुलुकमा सञ्चालित लक्षित अनुदान संयन्त्र कार्यक्रमका लागि नेपाललाई करिब ४५ करोड अनुदान प्राप्त हुने बताइएको छ । विश्व बैंकले दिने रुपियाँमध्ये २५ प्रतिशतमात्र अनुदान हुने र बाँकी सहुलियत दरको ऋण हुने बताइएको छ ।
कार्यक्रममा लक्षित अनुदान संयन्त्रको परिचय, यसका उद्धेश्य, लक्षित अनुदान संयन्त्रको स्थापना र विकासक्रम, मुख्य सिद्धान्तहरु, संयन्त्रको अवस्था, संस्थागत स्वरुप, अन्तर्राष्ट्रिय कम्पोनेन्ट, राष्ट्रिय कार्यक्रम, अनुदानका लागि कार्यक्रमहरु लगायत विषयमा प्रस्तुतिकरण गरिएको थियो ।
नेपालमा बन लगानी कार्यक्रम, लगानी योजना, पाँच वटा परियोजनाहरु, समुदायमा आधारित बन व्यबस्थापनका माध्यमबाट दीगो बन व्यबस्थापन, बनमा आधारित आर्थिक विकासका लागि बन व्यबस्थापन, निजी बन विकास, प्रकृतिमा आधारित पर्यटनका माध्यमबाट उन्नत वातावरणीय सेवा, नवीनतम् प्रविधिका माध्यमबाट जलाधार व्यबस्थापनलगायत अपेक्षित सहलाभहरु, कार्यक्रम व्यबस्थापन, समन्वय र सुशासन, वित्तीय योजना, सुरक्षा मापदण्ड, समर्पित अनुदानलगायत विषयमा पनि प्रस्तुतिकरण गरिएको थियो ।











प्रतिक्रिया