नगरपालिका संघका अध्यक्ष उपाध्यक्षमा निर्वाचित

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु इण्डोनेशियामा भएको विश्वभरका नगरपालिकाहरुको छाता संगठन युसिएलजी एसपिएसी प्यासिफिकको सातौ अधिबेशनबाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

भदौको दोश्रो साता मात्रै ब्याञ्जु देशभरका २ सय ९३ नगरपालिकाहरुको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । विश्वका ८० वटा नगरपालिकाहरु मध्ये धुलिखेल नगरपािलका उक्त सम्मेलनमा छनौटमा परेको थियो । नेपालका तर्फबाट ब्याञ्जुले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । विश्वका ६ देशको समर्थन पछि ब्याञ्जु उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

गत शनिबार राति ब्याञ्जु इण्डोनेशियामा हुने युनाईटेड सिटीज एण्ड लोकल गर्भमेन्ट एसिया प्यासिफिकले आयोजना गरेको सम्मेलनमा भाग लिन गएका थिए ।

अध्यक्षमा इण्डोनेशियाको सुरबया नगरपालिका मेयर डा. त्रिसमहरायनी, उपाध्यक्षमा नेपालका तर्फबाट धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु निर्वाचित भएका छन् । त्यस्तै भारतका रञ्जित चौहान, न्युजिल्याण्डका अध्यक्ष डेभा कल, चाईनाको कारब्लोङ्ग शहरका उपाध्यक्ष सङ्ग जिङ्गवयु र सेटपेन वाईटेन निर्वाचित भएका छन् । विश्वभरका नगरपालिकाहरुको विकास र सम्वृद्धका लागि उक्त संस्थाले योजना बनाउने र लगानी गर्नेछ ।

इण्डोनेशियाको सम्मेलन लगत्तै नगरपालिका संघका अध्यक्ष ब्याञ्जु दक्षिण कोरियाको सोलमा आयोजना हुने सातौ युयनडब्लुटिओ ग्लोबल समिट अन अर्वान टुरिजममा भाग लिन जानेछन् । पर्यटनमा समेत अगाडी बढिरहेको धुलिखेल नगरपालिका उक्त कार्यक्रममा छनौट हुन पुग्नुले धुलिखेलको पर्यटन विकासमा थप टेवा पुग्नु हो । इण्डोनेशिया र दक्षिण कोरियाको भ्रमण सकेर अध्यक्ष ब्याञ्जु असोजको पहिलो साता नेपाल आईपुग्ने यात्रा तय भएको छ ।