नयाँ संहिताको प्रभावः धमाधम सम्बन्ध बिच्छेदको उजुरी गर्दै पुरुषहरु

0
Shares

नरेन्द्र केसी, दाङ ।
पारिवारिक सम्बन्धमा बेमेल भए पनि सम्बन्धबिच्छेदका लागि अघि सर्न नसकेका पुरुषहरुले नयाँ संहिता आएसँगै धमाधम उजुरी दिन थालेका छन् । यसअघि सम्बन्ध बिच्छेदको उजुरी महिलाले दिनुपर्ने र दुबै जना छुट्न सहमत भए दुबै जनाले दिनसक्ने ब्यवस्था थियो ।

तर, भदौ १ गतेदेखि लागु भएको नयाँ संहिताले पुरुषलाई पनि सम्बन्ध बिच्छेदको बाटो खोलिदिएपछि पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अघि सारेका छन् । दाङ देउखुरी जिल्ला अदालतमा भदौ १ गतेदेखि २८ गतेसम्म २९ जना पुरुषले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएका छन् । ती २९ जना मध्य ३ जना पुरुषले श्रीमतीसँग सम्बन्धबिच्छेद नै गरिसकेका छन् । अहिलेसम्म पुरुषले दिएको उजुरीअनुसार तीन जोडीको सम्बन्धबिच्देछ भएको अदाललतका श्रेस्तेदार गम्भीर रानामगरले जानकारी दिनुभयो ।

२८ दिनमा कुल ५४ वटा सम्बन्ध बिच्छेदका निबेदन परेकामा २९ पुरुष र २५ महिलाका रहेका छन् । ती मध्य ३ पुरुष र ९ महिलाको मिलापत्रका आधारमा सम्बन्ध बिच्छेद भएको श्रेस्तेदार रानामगरले जानकारी दिनुभयो । सम्बन्ध बिच्छेदका लागि ७४ बर्षसम्मका बृद्धले पनि उजुरी दिएका छन् । श्रीमती श्रीमानको मन्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समय अलग बसेमा, पत्नीले पतिलाई खान, लाउन नदिएमा वा घरबाट निकाला गरिदिएको खण्डमा र परपुरुष सँग सम्बन्ध राखेमा श्रीमानले उजुरी दिनसक्ने कानुनी व्यवस्था रहेको छ ।

पछिल्लो सूचना प्रविधिको बढ्दो प्रयोग, सम्बन्ध बिच्छेद गर्न सहज कानूनी प्रावधानका कारण सम्बन्ध बिच्छेद अझै बढ्ने देखिएको छ । नयाँ कानून आएपछि दैनिक एक जनाजसो पुरुष उजुरी दिन आउने गरेको अदालतले जनाएको छ । पछिल्लो समयमा पारिवारिक बेमेलका घटना बढ्न थालेका छन् । जसले गर्दा सम्बन्ध बिच्छेद निम्त्याएको देखिन्छ ।

महिलालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन नहुनु, श्रीमतीलाई दबाएरै राख्नु पर्छ भन्ने गलत मान्यता, बैदेशिक रोजगारीमा जानेको क्रम अत्यधिक वृद्धि, लामो समयसम्म श्रीमान–श्रीमतीबीच सम्पर्क र सम्बन्ध नहुनु, एक–अर्काप्रतिको बुझाईमा फरक आउँनु, लहडमा किशोर अवस्थामै विवाह गर्नु लगायत सम्बन्ध विच्छेदका कारण बन्ने गरेको कानून ब्यवसायीहरु बताउँछन् । पछिल्लो समय आएको व्यवस्थाले पुरुषलाई पनि सहज बनाएपछि पिडित पुरुषहरु सम्बन्ध बिच्छेद तर्फ बढी देखिएका छन् । आफु बैदेशीक रोजगारीमा भएको समयमा श्रीमतीले सम्पत्ती हिनामिना गरेको, घरायशी बिबाद, श्रीमानको सल्लाह बिनै मनपरि गरेको भन्दै पुरुषहरुले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएको श्रेष्तेदार रानाले बताउनुभयो ।