सामान बोकेर आयो वीरगन्जमा रेल

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
भारतको आन्ध्रप्रदेशमा रहेको विशाखापट्टनम बन्दरगाहबाट पहिलोपटक इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको मालवाहक रेल नेपाल वीरगन्जमा रहेको सुक्खा बन्दरगाहमा आइपुगेको छ ।

यही भदौ १२ गते विशाखापट्टनमबाट ९० टीईयुज बोकेर नेपालको सुक्खा बन्दरगाहका लागि छुटेको मालवाहक रल दुईदिन अघि नेपालको वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो । २० फिट र ४० फिटको कन्टेनर बोकेको रेलमा विशाखापट्टनम बन्दरगाहमा लगाइएको इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टमसहितको मालवाहक रेल आएको छ ।

यो सँगै अब विशाखापट्टनमबाट सिधा सीआईए (कस्ट इस्युरेन्स फ्रेट) वीरगन्जको सुक्खा बन्दरगाहमा आएको छ । यसअघिका दिनमा तेस्रो मुलुकबाट सामान लिएर आउने कन्टेनर कोलकाता वा विशाखापट्टनमसम्म पु¥याउनुपर्ने बाध्यता रहेको थियो । अब भने विशाखापट्टनमबाट आएको कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहमा नै बुझाइदिए हुन्छ सिर्सिया सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्यप्रसाद सेढाईंका अनुसार अब विशाखापट्टनमा नै कस्टम ट्रान्जिट डिक्लियरेसन अनलाइनमार्फत कम्प्युटरले प्रविष्ट गर्ने र कन्टेनरमा इलेक्ट्रोनिक डाटा जडान गरिन्छ । त्यसरी जडान गरिएको सिस्टम सहितको मालवाहक कन्टेनर वीरगन्ज सम्म ढुवानी गर्ने संस्था कंकरलाई ढुवानीको लागि जिम्मा दिइन्छ । रक्सोल आईपुगेपछि त्यो इलेक्ट्रोनिक डिभाइस निकालिन्छ ।

 

यसरी विशाखापट्टनमबाट आएको सामान नेपालको सीमासम्म सुरक्षित पुग्यो भन्ने सिस्टमबाट सबै जानकारी पाउन सकिन्छ । यसले नेपाललाई धेरै फाईदा हुने भन्सार प्रमुख सेढाईंको भनाइ छ ।

वीरगन्जस्थित सुक्खा बन्दरगाहमा नै सीआईएफ दिएपछि अब नेपाली आयातकर्ताहरूले ड्यामरेज र विलम्व शुल्क नपर्ने र लागत पनि कम पर्न जान्छ । जसले गर्दा नेपाली उपभोक्तालाई पनि प्रत्यक्ष फाइदा पुग्ने वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले बताए । तर, वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडिया भने यो सिस्टमले थप खर्च बढेको बताउँछन् ।