महेन्द्रनगरका महिलाहरु थाली र चम्चा लिएर प्रदर्शनमा

0
Shares

महेन्द्रनगर ।
कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै शुरुआतबाटै आन्दोलनरत आमा समूहले बिहिबार दोस्रो दिन पनि महेन्द्रनगरमा प्रदर्शन गरेका छन । तर बिहिबार गरिएको प्रदर्शन भने अरु दिनको भन्दा फरक छ ।

‘दबाबमूलक संघर्ष समिति’ को ब्यानरमा भएको प्रदर्शनमा आमा समूहका महिलाहरुले थाली र चम्चा बजाउदै घटनाको छिटो सत्य, तथ्य सार्वजनिक गर्न स्थानिय प्रशासनको ध्यानाकर्षण गराएका छन । महेन्द्रनगर बजार परिक्रममा गर्दै अगाडी बढेको प्रदर्शनले जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयमा केहिबेर थाली र चम्चा बजाउदै निर्मलाका वास्तविक हत्यारालाई सार्वजनिक गर्न प्रशासनको ध्यानाकर्षण गराइएको हो ।

घटना भएको ५० दिन पुगिसक्दा पनि सरकारले बास्तविक अपराधि पक्राउ गर्न नसकेको विरोधमा थाली र चम्चा बजाउनुका साथै मोटर साइकल, अटो र साइकलको हर्न पनि बजाइएका छन । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा केहिबेर मौन धर्ना पनि दिएको थियो । घटनाको छानबिनका लागि सरकारले १५ दिनको म्यादसहित गठन गरेको उच्चस्तरीय छानबिन समितिले तोकिएको मितिमा कुनैपनि निष्कर्ष निकाल्न नसकेपछि आमा समूह बुधबारबाट फेरि आन्दोलनमा उत्रिएको हो ।

यसअघि आमा समूहले बुधबार हरितालिका तीजको दिन कालो साडी लगाएर तीज मनाएका थिए । निर्मला पन्तको बलात्कार र हत्यापछि भएको आन्दोलन तथा सरकारले हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्दा महेन्द्रनगर अशान्ति, आक्रोशित र शोकमा छ।