नेपालको माल्दिभ्ससामु आत्मसमर्पण


नेपाल समाचारपत्र, काठमाडौं
नेपालको साफ च्याम्पियनसिप (सुजुकी कप) जित्ने या फाइनल पुग्ने साइत अझै जुरेको छैन । बंगलादेसमा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल फाइनल पुग्न सकेन । ढाकास्थित बंगबन्धु रंगशालामा नेपालले शुरुको १० मिनेट र अन्तिम १० मिनेटमा नतिजा माल्दिभ्सलाई सुम्पेको हो । नेपालले ३–० ले हार्दै माल्दिभ्ससामु आत्मसमर्पण सजिलोसँगै ग¥यो ।

माल्दिभ्सलाई कमजोर आँक्नु र बंगलादेसलाई हराएपछि उपाधि नै जित्ने आत्मविश्वास लिनु नै नेपालको लागि घातक भएको थियो । माल्दिभ्सले समूह चरणमा एक गोल पनि नगरी मात्र १ अंकको भरमा सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपालले बंगलादेसलाई हराएपछि माल्दिभ्सलाई पनि हराउन सक्ने सपना बुनेको थियो । जबकी बुधबार भएको खेलमा नेपालले भन्दा माल्दिभ्सले जितकै लागि खेलेको थियो । नेपालले भने शुरुवाती गोल बेहोरेर पनि बराबरी गोल फर्काउन अल्छी पाराले खेलेको थियो ।

सोही प्रदर्शनले गर्दा माल्दिभ्सले पछिको दुई गोल तीन मिनेटको अन्तरालमा गरेको थियो ।

नेपालको लागि यसपटक फाइनल पुग्ने सुवर्ण अवसर थियो । खेलको नवौं मिनेटमै फ्रिकिकमार्फत् गोल खान पुगेको नेपालले बराबरी गर्ने थुप्रै मौका खेर फालेको थियो । कप्तान भरत खवासले क्लोज रेन्जमै ३ पटक गोल गर्न चुकेका थिए । यस्तै विमल घर्तीमगरले पनि दोस्रो हाफमा दुई वटा गोल गर्ने मौका सदुपयोग गर्न सकेनन् । बराबरी गोलको खोजीमा रहेको नेपाललाई माल्दिभ्सले अन्तिमतिर दुई झट्का दिए । नेपाललाई हराएर माल्दिभ्स पाँचौ पटक यस प्रतियोगिताको फाइनल पुगेको छ ।

नेपालले पहिलो गोल बेहोर्नुलाई दुर्भाग्य भएको थियो । विमलले डिबक्स बाहिर फाउल गरेपछि माल्दिभ्सले फ्रिकिक हान्न मौका पाएको थियो । कप्तान अक्रम अब्दुल घानीले प्रहार गरेको फ्रिकिक बललाई नेपालका गोलरक्षक किरण चेम्जोङ असफल भए । उनकै अगाडि बल भुईमा बाउन्स भएर सीधै गोलपोस्ट भित्र छिरेको थियो । उनले प्रयास गरे पनि त्यो बललाई छेक्न संभव भएन ।
सो गोलमा नेपालका पूर्व कप्तान अनिल गुरुङले बताए—भिजेको समयमा बल बाउन्स छिटै हुने गर्छ । यसमा गोलरक्षकले हावामै बललाई छेकेमा केही हुन्छ नत्र भने बल बाउन्स भएपछि छिटै डिफ्लेक्ट हुन्छ ।

पहिलो हाफ सकिन लाग्दा नेपालले राम्रा राम्रो मुभ बनाए पनि माल्दिभ्सको डिफेन्स तोड्न सकेन । यसको माथि माल्दिभ्सका गोलरक्षकले पनि नेपालका प्रहारलाई विफल तुल्याएका थिए । काउन्टर एट्याकमा माल्दिभ्स डरलाग्दो बनेको थियो । अन्त्यतिर भने नेपाली डिफेन्स फितलो बनिदिदा ३ मिनेटमै दुई गोल बेहो¥यो । यहाँबाट नै नेपालको खेलमा सकिने आसा समाप्त पनि भयो ।

८४औं मिनेट र ८७ औं मिनेटमा इब्राहिम हसन वाहिदले गोल गरेका थिए । पहिलो गोल अनन्त तामाङको क्लियर गरेको बल उनीतिर आयो र उनले वान टचमै नेपालको जाली चुमाइदिए । अर्को गोल पनि सोही तरिकाले भएको थियो ।

योसँगै साफ च्याम्पियनसिपमा नेपालको माल्दिभ्ससँग जित्न नसकेको रेकर्ड कायमै रह्यो । यी दुई टोलीले यो समेत ७ खेल खेले । जसमा ५ खेलमा नेपाल पराजित भएको छ । त्यस्तै यो नेपालको चौथो सेमिफाइनल थियो । यसअघिका तीन सेमिफाइनलमध्ये २०११ र २०१३ मा नेपाल अफगानिस्तानसँग हारेको थियो । हाल अफगानिस्तान प्रतियोगिताबाट अलग भएपनि नेपालको हालत उस्तै रहेको छ ।