राजस्व शाखाका कर्मचारी घूससहित पक्राउ

0
Shares

सरोज यादव, विराटनगर
विराटनगर महानगरपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदैगर्दा आईतबार दिउँसो रंगेहात पक्राउ परेका छन् ।

महानगरपालिका राजश्व शाखामा कार्यरत तिलकमणी पोखरेल विराटनगर–७ की सेवाग्राही मिना शाक्यसँग घुस लिदै गर्दा पक्राउ परेका हुन् । उनलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीलगायतको टोलीले सेवाग्राही पोखरेलसँग घुस लिदै गर्दा पक्राउ गरेको हो ।

सेवाग्राही शाक्यले घरको कर तिर्न जाँदा राजश्व शाखाका खरिदार पोखरेलले घुस मागेको र सो कुरा वडाध्यक्षलाई जानकारी गराएको बताइन् । उनले महानगरका कर्मचारी पोखरेलले राजश्व १ लाख रुपैयाँ बढी तिर्नुपर्ने बताएको र आफुसँग त्यत्रो रकम नभएको बताएपछी ८५ हजार रुपैयाँ मात्र बुझाएको बताईन । पोखरेलले ८५ हजार रुपैयाँ बुझाएपछी खरिदार पोखरेलले राजश्वको रसिद सोमबार आउने बताएको र केही समयपछी बोलाएर रसिद तयार भएको बताउदै ७३ हजार ५ सय रुपैयाँको मात्र रसिद थमाएपछी वडाध्यक्ष तिवारीकै अग्रसरतामा कर्मचारी पोखरेल पक्राउ परेका हुन् ।

उता घुससहित पक्राउ परेका कर्मचारी पोखरेलले आफुलाई फसाउन खोजेको आरोप लगाएका छन् । उनले जानी जानी सेवाग्राही शाक्यले राजश्व भन्दा बढी रकम दिएको र सोही बहानामा आफुलाई फसाउन खोजेको आरोप लगाए । यता विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले पनि रसिदमा उल्लेख भन्दा बढी रकम लिएको पाईएकाले आफुहरु पनि अनुसन्धानकै क्रममा रहेको बताएका छन् । उनले तत्कालका लागि उक्त विषय अख्तिरलाई जानकारी गराएको र अख्तियारको अनुसन्धान पछी महानगरले पनि आन्तरिक अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढाउने बताए ।

त्यस्तै विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले पनि अख्तियारको अनुसन्धान पश्चात कर्मचारी पोखरेलको आन्तरीक छानविन गरिने बताए ।