राम धामी, डडेल्धुरा
प्रदेश ७ मा राजनीतिक व्यवस्था परिर्वतनका लागि सक्रिय नागरिक समाज सम्वद्ध बिभिन्न संघ संस्थाहरु जनताको अवस्था फेर्नमा भने निष्कृय देखिएका छन् ।
प्रदेश ७ का बिभिन्न जिल्लाहरुमा हाल भ्रष्टाचार, कालोबजारी, तस्करी, हत्या हिसां मौलाएको छ भने विकास निर्माणका योजनाको कार्यान्वयनमा चरम लापरवाही भईरहेको छ ।
नागरिकहरुको आवाज बुलन्द पार्ने नागरिक समाज संस्थाहरु भने लोकतन्त्र स्थापनापछि राजनीतिक दलको धर्मपुत्रका रूपमा पालिँदै आएको आरोप स्थानीयको छ । नागरिक समाज सम्वद्ध संस्थाहरु राजनीतिक दलपिच्छे फरक–फरक धारणा बनाउँन थालेपछि प्रदेश ७ मा नागरिकका आवाजहरु पनि दबिन थालेका छन् ।
प्रदेश ७ मा आम नागरिकका आवाजहरु उठान गर्ने एउटा साँझा संस्थाको अभाव खडकिन थालेको स्थानीय अगुवाहरुको दाबीछ । लोकतन्त्रको स्थापनामा बलियो सरोकारवाला बनेको नागरिक समाज संस्थाहरु हाल लोपहुन थालेको डडेल्धुरामा लामो समय देखि राजनीति र सामाजिक कृयाकलापमा सकृय भरत नेपालीले बताए । नागरिक समाज सम्वद्ध संघ संस्थाहरु सामाजिक परिवर्तन भन्दा पनि राजनीतिक परिर्वतनका लागि मात्रै सक्रिय भएको उनको अनुभव छ ।
सामाजिक परिर्वतनबिना जुनसुकै किसिमका राजनीतिक परिर्वतनले खासै अर्थ नराख्ने बताउदै अधिबक्ता नरेन्द्र रोकायाले नागरिक समाजले आधुनिक र परिर्वतनकारी समाज निर्माणका लागि आफ्नो भूमिकालाई सक्रिय बनाउन आवश्यक रहेको धारणा ब्यक्तगरे ।
लोकतन्त्र र शान्तिका लागि नागरिक समाजका सुदूरपश्चिम संयोजक शिद्धराज पाठकले बिगतको तुलनामा नागरिक समाजले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे । प्रदेश ७ का पहाडी जिल्लामा उपचार नपाएर अकालमै ज्यान गुमाउन पर्ने नियती छ भने हत्या, हिसां, बलात्कारका घटनाले प्रदेशवासीलाई असुरक्षित भएको महसुस गराउन थालेको छ ।
यस्ता साझा सवालहरु उजागर गर्न र समस्या समाधानका लागि नागरिक समाजको भूमिका महत्वपुर्ण हुने स्थानीय अगुवा पदमा गुरुङले बताइन ।
सरकारी निकायहरुमा जनप्रतिनिधिहरु आएपनि भ्रष्टाचार र ढिलासुस्ती कायमै रहनुमा नागरिक समाजको निष्कृयता प्रमुख कारण भएको स्थानीय अगुवाहरु बताउछन । नागरिक समाजमा राजनीतिक दलका सदस्यको वर्चस्व रहनुले पनि नागरिक समाज छायामा परेको हो । हाल नागरिक समाजको सबै भुमिका नागरिक समाजकै अंग मानिएको आम सञ्चार क्षेत्रले निभाईरहेको नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष डीआर पन्त बताउछन ।
सार्वजनिक सञ्चारका माध्यमहरूबाट मत व्यक्त गरेर, गोष्ठी अन्तरक्रिया र भाषण गरेर नागरिक समाजका सदस्यहरू र समुहहरूले आफ्ना विचार सार्वजनिक गरिरहेको नेपाल नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिँहले बताए । उनले आम सञ्चार क्षेत्रले नागरिक समाजलाई सकृय बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।











प्रतिक्रिया