काठमाडौ (नेस) । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरुङ्ग–रसुवागढी नाका पुल पुनःनिर्माण र महावाणिज्य दुतावास भवनको शिलान्यास गर्नुभएको छ ।
सभामुख महराले आइतबार ल्हासास्थित एक विशेष समारोहका बीच नेपाल–चीन सिमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलहरुको पुनःनिर्माण तथा महावाणिज्य दुतावास भवनको शिलान्यास गर्नुभएको हो ।
सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको शिलान्यास समारोहमा तिब्बत जनकांग्रेसका अध्यक्षसहितका पधाधिकारीहरुको सहभागिता थियो ।
२०७२ बैशाख १२ गतेको महाभूकम्पका कारण नेपाल–चीन जोड्ने दुवै पुलहरु क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।
शिलन्यास कार्यक्रममा सभामुख महराको प्रतिनिधिमण्डल, ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
ल्हासास्थित शिलन्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मको लागि भाडामा लिएको हो ।
पुल पुननिर्माण तथा दुतावास भवन शिलन्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दुतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको बताउनुभएको छ ।
ल्हासास्थित नेपाली महावाणिज्य दुतावासको शिलान्यास तथा तातोपानी र रसुवागढी मैत्री पुल पुनःनिर्माण परियोजना शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।
‘ल्हासामा रहेको वाणिज्य दुतावास नेपालको प्राचीन वाणिज्य दुतावासहरुमध्येको एक हो,’ सभामुख महराले भन्नुभयो,–‘यो वाणिज्य दुतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहनेछ ।’
ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मैत्री पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै सभामुख महराले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
दुबै देशका नागरिकले बौद्ध धर्मको अनुसरण गर्नु साँस्कृतिक, धार्मिक सम्बन्धको ज्वलन्त उदाहरण भएको चर्चा गर्नुहुँदै सभामुख महराले ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदानप्रदान र राजनीतिक अन्तरक्रिया नेपाल–चीन सम्बन्धका गतिशील पक्षहरु भएको बताउनुभयो ।
पहिलो पटक आफूले तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दाको क्षण स्मरण गर्नुहुँदै सभामुख महराले तिब्बतको भौतिक विकासबाट आफू धेरै प्रभावित भएको बताउनुभयो ।
तिब्बत प्राचीनकालदेखि नै चीन प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको चर्चा गर्नुहुँदै सभामुख महराले सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
‘सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेका छौं, उहाँले भन्नुभयो, ‘चीनको स्वशासित क्षेत्र तिब्बत हाम्रो घनिष्ठ मित्र, असल छिमेकी र शुभचिन्तक हो । नेपालको बाह्य सम्बन्धको पाटोमा तिब्बतको महत्वपूर्ण स्थान रहेको छ ।’
तिब्बत चीनको एक भाग हो भन्ने कुरामा नेपाल सरकार अडिग रही एक चीन नीतिमा पूर्ण प्रतिवद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रको हित विपरित प्रयोग हुन नदिने कुरामा सजग रहेको बताउनुभयो ।
बिपिको संझनामा फलफूल वितरण
भक्तपुर, (नेस)।
नेपाली कांग्रेस भक्तपुरले भक्तपुर अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । विश्वेश्वर प्रसाद कोईरालाको १०४ औं जन्म जयन्तीको अवसरमा भक्तपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको नेपाली काँग्रेस जिल्ला सचिव उद्धव सिलवालले जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालका ५७ जना विरामीलाई फलफूल वितरण गर्दै विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसले विपिको मेलमिलापको नीतिलाई अबलम्बन गरेर जान सक्नु पर्ने बक्ताहरुले औल्याएका थिए ।
घिमिरेविरुद्ध उजुरी आह्वान
काठमाडौं, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस हुनु भएका नवीनकुमार घिमिरेविरूद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
आयोगको रिक्त रहेको प्रमुख आयुक्तको पदमा संवैधानिक परिषद्को भदौ २० को बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई सिफारिस गरेको थियो। घिमिरेलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधारसहित असोज १ गतेभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।
समितिले आफै समितिमा आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन आइतबार प्रकाशित सूचनामा भनिएको छ। समितिले उजुरीमा नाम थर, वतन र सम्पर्क माध्यम खुलाउनुपर्ने जनाएको छ। संसदीय समितिले उजुरीकर्ताले चाहेमा व्यक्तिगत विवरण गोप्य राख्नेछ।
संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाइ समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था रहेको छ। दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि घिमिरे कार्यबाहक प्रमुख आयुक्तको रुपमा हुनुहुन्छ ।











प्रतिक्रिया