हेटौंडा । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले बिहीबार राति हेटौंडा ल्याएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको स्रोतले जनाएको छ । भोजपुरबाट उनलाई हेटौंडा ल्याइएको स्रोतले दाबी गरेको छ ।
जिल्ला अदालत भोजपुरमा थुनछेक बहसपछि रिहा गर्न आदेश दिए पनि पक्राउ अवस्थामै रहेका प्रकाण्डलाई हेटौंडामा भएको कुनै घटनामा मुद्धा चलाउन ल्याइएको हो वा दाङ लैजान ल्याइएको हो प्रहरीबाट पुष्टि हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ र प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंह सम्पर्कमा आउन चाहेनन् । तर, स्रोतले प्रकाण्डलाई हेटौंडा ल्याएर जिप्रकाको हिरासतमा राखिएको दाबी गरेको छ । प्रकाण्डलाई दाङमा म्यादी प्रहरी बिनोद चौधरीको हत्या गरेको आरोप लागेको बुझिएको छ ।
नेपाली कांग्रेसको चुनाबी सभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी चौधरीको ज्यान गएपछि विश्कर्माविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा दर्ता भएको थाहा भएको छ ।
उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा भएकोले दाङमा लैजान लागिएको बताइएको छ । घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने भएको छ । प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबभन्दा ठूलो मुद्धा हो ।
चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिबेदनमा फरार सूचीमा परेका विश्वकर्मालाई हेटौंडाबाट काठमाडौं फर्कने क्रममा २३ साउनमा दक्षिणकालीबाट प्रहरीले पक्राउ गरेको थियो ।
विश्वकर्मालाई विभिन्न जिल्लाका अभियोगमा त्यहाँका प्रहरी कार्यालय र अदालत पु¥याइँदै आएको छ । काठमाडौंदेखि पक्राउको सिलसिला सुरु गरेको प्रहरीले अदालतका विभिन्न पटकका आदेश हुनासाथ विश्वकर्मालाई पक्राउ गरी काभ्रेपलाञ्चोक, नुवाकोट हुँदै भोजपुर पु¥याएको थियो ।
भोजपुरबाट पनि छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङको यात्रा गराएको छ । उनलाई विभिन्न जिल्लामा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धाअन्तर्गत् प्रहरीले अदालतमा उपस्थित गराउँदै आएको छ । नुवाकोटमा रहेका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट बिराटनगरसम्म विमानबाट र त्यहाँबाट गाडीको बाटो हुँदै राति ११ बजे भोजपुर पु¥याइएको थियो ।
यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो ।











प्रतिक्रिया