काठमाडौ(नेस) । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको शिर उँचो पार्ने कार्य गर्न आफू तल्लीन रहेकोले यस अभियानलाई सफल पार्न प्रहरी अस्पताल लगायत सबै इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले आ–आफ्नो तर्फबाट अझै अनुकरणीय काम गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले नेपाल प्रहरी अस्पताल महारजगंजमा बिहीबार आयोजित एक कार्यक्रममा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अस्पताल परिसरभित्र पुननिर्मित काली मन्दिर उद्घाटन, ईमर्जेन्सी तथा ओपिडी र महिला व्यारेक भवनको शीलान्यास, ‘हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम एण्ड नेटवर्किङ’को उद्घाटन गर्नुभयो ।
उहाँले नेपाल प्रहरी अस्पतालबाट प्रकाशित ‘नेपाल मेडिकल जर्नल’को विमोचन गर्नुका साथै उत्कृष्ट कार्य गर्ने अस्पतालका कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान समेत गर्नुभयो ।
नेपाल प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै बिरामीहरुलाई गुनासो नआउने गरी समान रुपले अझै गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । अपराध नियन्त्रण, कानुन कार्यान्वयन लगायत तोकिएको मुलभूत दायित्व निर्वाह गर्न र नागरिक सेवामा तल्लीन हुन उहाँले आग्रह समेत गर्नुभयो ।
सो अवसरमा पूर्व प्रहरी कर्मचारी परिषद नेपालका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशप्रसाद श्रेष्ठ र नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरिक्षक बसन्तराज कुँवरले आ(आफ्नो मन्तव्य व्यक्त गर्दै पूर्व प्रहरीको ज्ञान, सीप र अनुभवको प्रहरी संगठनले सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा अस्पतालकी डेपुटी मेडिकल डाइरेक्टर प्रहरी नायव महानिरीक्षक डा. दुर्गा थापा पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरु दुर्लभकुमार थापा, हेमबहादुर सिंह, मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, धुब्रबहादुर प्रधान, प्रदिपशमसेर जबरा, श्यामभक्त थापा, हेमबहादुर गुरुङ, कुबेरसिंह राना र प्रकाश अर्याल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, मन्दिर निर्माणमा सहयोग गर्ने महानुभावहरु लगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया