एक करोडको सुनचाँदीसहित एक व्यक्ति पक्राउ

0
Shares

हेटौंडा ।
चितवनमा सुनचाँदी तस्करीमा संलग्न एक जना मंगलबार पक्राउ परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१, पुतलीबजारस्थित बाबुरत्न खड्गीको घरमा डेरा गरी बस्ने भारत महाराष्ट्र साङ्ली जिल्ला आटपढे थाना घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई मंगलबार मध्याह्न पक्राउ गरिएकोे हो ।
चितवनका विभिन्न स्थानमा अवैध सुनको कारोबार भइरहेको विषेश सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


पाटिलले केही परिमाणमा काँचो सुन बिक्री गरिसकेको र बिक्रीबाट प्राप्त नगद १२ लाख समेत बरामद गरिएको छ । सुनको परिमाण २ केजी ७६ ग्राम रहेको, चाँदी ४ केजी ६१७ ग्राम ६३० मिलीग्राम रहेको र ती सुनचाँदीको मूल्य १ करोड बराबर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

१० वर्षदेखि नारायणगढ बजारमा सुन बिक्री गर्ने र रिफाइनिङ गर्ने काम गर्दै आएका पाटिललाई सोमबार एक भारतीय नागरिकले ती सुनचाँदी ल्याइदिएको खुलेको छ ।

बरामद गरिएका सुनचाँदी, नगद र पक्राउ गरिएका व्यक्तिलाई प्रारम्भिक अनुसन्धान पश्चात् भन्सार ऐन, २०६४ अनुसार विस्तृत अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुरमा पठाइएको छ ।

पसल सञ्चालक पाटिललाई पक्राउ गरी अवैध सुन तस्करी सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरिएको छ । प्रारम्भिक अनुसन्धानमा देखिएअनुसार उक्त सुनचाँदी रसुवास्थित तिब्बतसँग जोडिएको नाका हुँदै अवैधरुपमा भित्र्याइएको खुल्न आएको प्रहरीले जनाएको छ ।