‘अहिलेको कानून बिरामीमारा छ’

0
Shares

काठमाडौं । डा. गोविन्द केसीले अहिलेको कानून बिरामीमारा भएको आरोप लगाएका छन् ।

आइतबार नेपाल चिकित्सक संघले निकालेको विरोध र्‍यालीपछि कोणसभामा बोल्दै डा. केसीले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही हुनुहुँदैन भन्ने होइन, तर अहिलेको कानून बिरामीमारा छ ।’ उनले मुलुकी ऐनमा स्वास्थ्यकर्मीमाथि लगाइएको नयाँ कानून फिर्ता हुनुपर्ने माग गरे ।

डा. केसीले नयाँ कानूनले चिकित्सकहरुलाई हतोत्साहित बनाएको आरोप लगाउँदै डाक्टरहरुले अब जोखिम मोल्न नखोज्ने बताए । उनले भने, ‘हेल्थपोष्टले जिल्ला अस्पताल हुँदै शहरका ठूला-ठूला अस्पतालमा रिफर गर्ने अवस्था सिर्जना हुन्छ ।’

चिकित्सकमाथि लगाइएको नयाँ कानूनले पैसा हुने मात्रैले मात्र उपचार गर्न सक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । यसको मारमा गरिब जनता पर्ने भन्दै उनले यसलाई ‘कालो कानून’को संज्ञा दिएका छन् ।

डाक्टरले बिरामीको उपचार गरिरहँदा मृत्यु भएमा ज्यानमाराको अभियोग लगाइनु राम्रो नभएको बताउँदै मुलुकी अपराध संहिता ऐनको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गरेका छन् ।