सहकारीको रकम हिनामिना गरी उद्योगमा लगानी

0
Shares

विराटनगर
विराटनगरको प्राइम वचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धकले करोडौं रुपियाँ अपचलन गरेर विभिन्न पाँच उद्योगमा लगानी गरेको भेटिएको छ ।

सहकारीको रकम अपचलन गरी फरार भएका प्रवन्धक इश्वर श्रेष्ठलाई प्रहरीले पोखराबाट पक्राउ गरेर ल्याएपछि भएको अनुसंधानका क्रममा हिनामिना गरेको रकम गोप्य रुपमा उद्योगमा लगानी गरेको भेटिएको हो । श्रेष्ठलेले पोखरादेखि विराटनगरसम्मका उद्योगहरुमा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ

प्रहरीलाई दिएको बयान अनुसार श्रेष्ठले बिनायक प्रिन्टरमा करिब १ करोड रुपैयाँ लगानी गरेको स्वीकार गरेका छन् । त्यस्तै पोखरामा रहेको लोटस फुड प्रोडक्समा ८५ लाख, विराटनगस्थित न्यू विराट अटो वल्र्डमा ८ लाख ५० हजार, अल राईट फुड प्रोडक्ट प्रालि. मा तीन लाख, जिरे खोर्सानी नामक होटल खोल्नको लागि ५ लाख रुपैयाँ लगानी गरेको भेटिएको हो । श्रेष्ठले सहकारीको पैसा अफन्तलाई समेत उपलव्ध गराएर व्यवसाय गर्न सहयोग गरेको तर त्यसको कुनै हिसाव सहकारीमा नराखेको पाइएको छ । आफन्तलाई करिव एक करोड रुपियाँ दिएको अनुसंधानका क्रममा फेला परेको थियो ।

श्रेष्ठले भाइ अरुणलाई करिब ३१ लाख, अनिललाई ८ लाख, बसन्तलाई ५ लाख, बावु हरिभक्तलाई ५ लाख, बहिनी कोपिलालाई करिब ७ लाख रुपैयाँ दिएको बयान दिएका थिए । कम्पनीमा लगानी गरेका कारण बचत कर्तालाई समयमा भुक्तानी गर्न नसकेको र बचतकर्ताको बचत फिर्ता गर्न मिटर व्याजमा ऋण लिएर केही समय थेग्ने प्रयत्न गरेपनि अन्ततः नसकेर भाग्नु परेको बयान श्रेष्ठले दिएका छन् ।

सहकारीमा बचतकर्ताहरुले ८ करोड रुपियाँ भन्दा बढी बचत गरेका थिए । शेयर वापत करिव ९२ लाख रुपिँया जम्मा थियो । त्यही ९ करोड रुपियाँ मध्ये करिव तीन करोड भन्दा बढी श्रेष्ठले हिनामिना गरेको खुलेको छ । सहकारीले बजारमा करिब एक करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको श्रेष्ठले जानकारी दिए ।