धनवीर दाहाल, रुकुम
रुकुममा पहिलो पटक दुग्ध संकलन केन्द्रको स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङमा दुग्ध संकलन स्थापना केन्द्र भएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ७९ लाख ९९ हजार नौ सय पचास र नागरिक दुग्ध सहकारी संस्थाको १६ लाख २५ हजार लगानीमा दुग्ध संकलन केन्द्रको स्थापना गरिएको हो ।
जिल्लामा उत्पादित दूधको सदुपयोग र बाहिर निर्यातका लागि दुग्ध संकलन केन्द्रको स्थापना गरिएको नागरिक दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष धिरन शेर्पालीले बताउनुभयो । सुरुमा मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न बस्तीमा उत्पादित दूधलाई बजार पुर्याउने उद्देश्य रहेको र बिस्तारै आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, र बाँफिकोट गाँउपालिकामा उत्पादीत दुधलाई पनि संकलन गरिने उहाँले बताउनुभयो । दुग्ध संकलनका लागी आबश्यक सबै सामाग्री र गाडी समेत खरिद भइसकेको छ ।
यसै गरी दूध संकलनका लागि अर्को गाडी ल्याउने तयारीमा रहेको सहकारीले जनाएको छ । गाँउमा रहेको दूध बजार पुग्न समस्या भइरहेका बेला त्यसलाई टेकअप गर्नेगरी संकलन केन्द्र स्थापना गरेको अध्यक्ष शेर्पालीले बताउनुभयो । उहाँले दूध बिक्री नभएर खराब हुने अवस्थाको अन्त्य गर्न खोजिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बजार नजिकका कतिपय किसानको दूध कहिलेकाहीँ बिक्री नहुने समस्या रहेकामा अब उक्त दूधलाई चिलिङ भ्याट मार्फत केही दिन ताजा बनाइ राखिने छ । जिल्लामा दूध पुगेपछि जिल्ला बाहिर समेत निर्यात गर्ने योजना सहित चिस्यान केन्द्र स्थापना गरिएको हो । जिल्लाका विभिन्न ठाउँबाट दूध संकलन गर्ने एउटा र जिल्लाबाट बाहिर दूध निकासी गर्नुपरे अर्काे गाडी परिचालन गर्ने तयारी सहकारीले गरेको छ । गाउँ–गाउँमा किसान समूह गठन गरी दूध संकलनको चाँजोपाँजो मिलाइने सहकारीका सचिव छविलाल केसीले जानकारी दिनुभयो ।
सहकारीले दैनिक दुई हजार पाँच सय लिटर दूध संकलनको अपेक्षा गरेको छ । राप्ती लोकमार्गमा चिस्यान केन्द्र स्थापना गरिएकाले दूध संकलन र निर्यातमा सजिलो हुने विश्वास लिइएको छ । यसै गरी दुग्ध संकलन केन्द्रको स्थापना भएपछि स्थानीयबासीमा पशुपालनमा आर्कषण बढ्न थालेको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा नजिकै दुग्ध संकलन केन्द्र स्थापना भएको र संघिय सरकार अन्र्तगत कृषि मन्त्रालयले पनि पशुपालनका लागी रुकुम पश्चिममा अनुदान दिने घोषणा गरेपछि स्थानीयको पशुपालनमा आर्कषण बढेको हो ।











प्रतिक्रिया