नाम मात्रको ५० शैयाको अस्पताल

0
Shares

अनिल खत्री, गुल्मी
गुल्मीको जिल्लामा रहेको अस्पताललाई १५ शैयाकोलाई सरकारले स्तरबृद्धि गरेर ५० शैयाको बनाएको वर्ष बित्यो । सरकाको त्यो घोषणा अहिले घोषणामा सिमित भएको छ । अस्पताल ५० वेडमा स्तरउन्नति भएपनि सो अनुसारको कर्मचारी व्यवस्थापन तथा भौतिक संरचनाको अभावले ३० वेडमा मात्रै सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल गुल्मीले जनाएको छ । दरबन्दी र भौतिक पुर्वाधार सुविधा १५ शैयाकै भएको अस्पतालमा अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट थपेर ३० शैयामा बिरामीको उपचार हुँदै आएको हो ।

अस्पतालमा १० जना बिशेषज्ञा डक्टर मध्ये ७ जना डक्टरको दरबन्दी खाली रहेको अस्पताल व्यवस्थापक कमल अर्याल बताए । जस मध्ये १ जना बिशेषज्ञा डक्टर र २ जना कागजमा रहेका डक्टरहरुले सेवा प्रदान गर्दै आएका छन् । जिल्ला अस्पताल गुल्मीमा कुल कर्मचारी सहित ५९ जनाको दरबन्दी भएपनि ३७ जना मात्रै रहेको व्यवस्थापक अर्यालले बताए ।

अस्पताल बिकास समितिले २४ जना स्वास्थ्य कर्मीहरुको दरबन्दीमा सहयोग गरेको छ । त्यस्तै नगरपालिकाबाट ४ जनाको लागि सहयोग गरेको अर्याललको भनाई छ । छात्रबृद्धि करारबाट ४ जना २ जना डेन्टर सर्जनले सेवा दिँदै आएकाछन् । लामो सयमदेखि निक साईमन ईन्टिच्युट काठमाण्डौले पठाएका एक जना विशेषज्ञ डक्टर सेवा दिँदै आएका छन् ।

अस्पतालमा तोकिएको दरबन्दी अनुसार डक्टरहरु नहुँदा उल्ेख्य सेवा दिन नसकिएको डक्टर उत्तम पच्याले बताए । उनले दरबन्दी अनुसार डक्टरहरु नभएपनि सेवा प्रवाहलाई सुधार ल्याउन केहि नयाँ योजनाहरु अगि सारेको बताए । अस्पतालमा आउने बिरामीहरुको जाँचको सहजताको लागि बिहान ७ बजे देखि बेदुकी ९ बजे सम्म बिरामीको नाम दर्ता गर्ने समय अबधी राखिएको बताए ।
सानो ठाउँ भएकाले र डक्टरहरुलाई पनि काम हुने भन्दै डक्टरहरु नै आउन नमान्ने गरेकोे अस्पताल विकास समितिका पुर्वअध्यक्ष शेर बहादुर थापाले बताए । ‘जिल्ला अस्पताल तम्घासमा केन्द्रबाट डाक्टरहरु आउनै मान्दैनन, आएपनि धेरै समय बस्दैनन,’उनले भने,‘ उनीहरुका लागि अरु अवसरहरु पनि कम छन् ।’

जिल्ला अस्पतालमा छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका समेत बिरामी उपचारका लागि आउँछन् । जसका कारण अस्पतालमा सेवाग्राहीको चाप निकै हुने गर्दछ । दैनिक दुई सय जना सम्म विरामीको स्वास्थ्य चेकजाँच हुने अस्पतालको रेकर्ड छ ।
सरकारी अस्पताल प्रति जनताले बिश्वास कम गर्ने र जाँदै नजाने गरे बानी प्रति परिर्वतन ल्याउन जिल्ला अस्पताल गुल्मीले आफना सेवाहरु बारे जनतालाई जानकारी गराएको छ । जिल्ला अस्पताल गुल्मीले पूर्वाधार तथा मानव संसाधनको कमि हुदाँहुदै पनि यस अस्पतालले गरेका उल्लेखनिय कामहरु सार्बजनिक गरेको छ । अस्पतालले बिहिवार तम्घासमा राखेको एक कार्यक्रमम एक वर्षमा गरेका प्रगती तथा आगामी दिनमा गर्नुपर्ने रणनिती सर्बजनिक गरेको हो ।

अस्पतालले आर्थिक वर्ष ०७४÷०७५ एक वर्ष भरिमा सुरक्षित मातत्वमा ७ सय ६८ प्रसुति भएको त्यसमध्ये ८६ जनाको शल्यक्रियाद्धारा सफल शल्यक्रिया गरेको जनाएको छ । जसमा १ जनाको अण्डवाहिनीमा गर्भ रहन गई अण्डवाहिनी नली फुटेको र पेटमा रगत बगेको बिरामीलाई शल्यक्रिया मार्फत बचाउन सफल भएको जिल्ला अस्पताल गुल्मीका प्रमुख डाक्टर उत्म पच्याले बताए ।

अस्पतालले जनरल सर्जरी अन्तर्गत हाइड्रोसिल, हर्निया, एपेन्डिक्स तथा काटिएको÷छिनिएको मांसपेशीको जरा जोड्न सफल भएको समेत आफनो वार्षिक कार्यक्रममा मार्फत जनाएको छ । सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एच.आई.भि., क्षयरोगको नियमित रुपमा अस्पतालमै उपचार सेवा दिइरहेको पच्याले बताए ।

अस्पतालमा सामान्य रगतको जाँचदेखी कलेजोको कामको जाँच, बोसोको जाँच (लिपिड प्रोफाइल), नुन(सोडियम,पोटासियम) को जाँच, दिसा, पिसाब, रगतको जाँच तथा कल्चर सेवा, उच्चस्तरिय जीन एक्सपर्ट उपकरणद्धारा क्षयरोगको नियमित रुपमा परिक्षण गर्दे आइरहेको अस्पतालका व्यवस्थापक कमल अर्यालले बताए । अस्पतालमा बिग्रेका मेडिकल उपकरण मर्मत तथा व्यवस्थापनको लागि छुट्टै ल्याबको उचित प्राविधिक स्रोत साधनसहित बायोमेडिकल इन्जिनियरिड्ड फाँट संञ्चालनमा ल्याइएको डाक्टर पच्याले बताए ।

विगत २ वर्षदेखी अस्पतालले आफ्नै फार्मेसी संचालनमा ल्याई कार्यालय समयमा नियमित रुपमा सेवा दिइरहेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ । अस्पतालको लागि ३५ रोपनी जग्गा आवश्यक पर्नेमा जम्मा १४ रोपनी मात्रै उपलब्ध भएकोले थप जग्गा आबश्यक परेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ ।

अस्पतालमा पर्याप्त भवन नहुदाँ बिरामीको उपचारको लागि कठिनाई भएको साथै सेवामा २४ सै घण्टा खट्ने कर्मचारीको लागि आवासको व्यवस्था गर्न नसकिएको डाक्टर पच्याले बताए । जिल्ला अस्पताल गुल्मीले एक्सरे फाँटमा सि.आर. (कम्प्युटेट रेडियोग्राफि) उपकरण जडान गर्ने आगामी योजनामा राखेको जनाएको छ ।स्वास्थ्य बिमा लागू भएपछि २४ सै घण्टा फार्मेसी संचालन गर्ने र अस्पतालको आफ्नै एम्बुलेन्स सेवा संचालनमा ल्याउने समेत वार्षिक कार्यक्रममा उलेख्ख छ ।

गुणस्तरिय स्वास्थ्य सेवामा थप अब्बलता हासिल गर्न दरबन्दी अनुरुपका विशेषज्ञ डाक्टरहरुको पदपूर्तिको लागि आवश्यक पहल गर्ने डाक्टर पच्याले बताए । हाल १० वटा कन्सलटेन्ट डाक्टरमध्ये १ जनामात्रै कन्सलटेन्ट डाक्टरले मात्रै उपचार गर्दै आएका छन् । लैगिंक हिसांसम्बन्धि एकद्धार प्रणाली व्यवस्थापनको निरन्तरता गर्दै स्थानिय सरकार तथा विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी सहकार्य अगाडी बढाउने आगामी कार्य योजनामा रहेको डाक्टर पच्याले बताए । उनले विधुतिय हाजिरीको व्यवस्था गर्ने,अस्पतालका संवेदनशिल भागमा सि.सि.टि.भि.जडान गर्ने स्पतालमा चमेना गृह संचालनमा ल्याउने आगामी कार्य योजनामा रहेको बताए ।

लक्षित वर्गको लागि निशुल्क उपचार गर्न स्थानिय, प्रदेश तथा संघिय सरकारबाट छुट्टै वजेट विनियोजन नगरिएकाले समस्या भएको डाक्टर पच्याले बताए । निशुल्क औषधी खरिदका लागि समयमै वजेट नआउनाले समस्या हुँदै आएको डाक्टर पच्याले कार्यक्रममा बताए । स्थानिय जनताहरुले अस्पतालको अपनत्व ग्रहण गर्न नसकिरहेकाले र स्थानिय सरकारबाट अस्पताल प्राथमिकतामा नपरेको बताए ।