रसुवा (नेस)
रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाँईकुण्डमा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा १ लाख भन्दा बढी भेटी संकलन भएको छ ।
गोसाईकुण्ड क्षेत्र बिकास समितिका अध्यक्ष संजिब डि.एम. का अनुसार जनैपूर्णिमा मेला भर्न गएका भक्तजनबाट १ लाख ४१ हजार ६ सय रुपैयाँ भेटी संकलन भएको हो । समितिले मेलामा संकलन गरेको भेटी प्रहरी र पत्रकारको रोहवरमा जिल्ला प्रहरी कार्यालय रसुवामा सार्वजनिक गरेको छ । समितिका अध्यक्ष डिएमका अनुसार अघिल्लो वर्षको मेलामा ९८ हजार भेटी संकलन भएको थियो ।
संकलन भएको भेटि गोसाईकुण्ड क्षेत्र बिकास समितिको खातामा जम्मा गरिने समितिका अध्यक्ष डिएमले बताए । भेटी गोसाईकुण्डको मेला व्यवस्थापन तथा कुण्डको संरक्षणमा खर्च गरिने समितिका अध्यक्ष डिएमले बताए । २०५६ साल देखि गोसाइकुण्ड क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गर्दै आएको समितिले हरेक वर्ष भेटी संकलन गर्ने गरेको छ ।
हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाईकुण्ड मेला यो बर्ष यहि साउन ३१ गतेदेखि भदौ १० गते जनैपूर्णिमाका दिनसम्म लागेको थियो । १० दिनसम्म चलेको मेलामा करिव १० हजार तिर्थयात्रीले मेला भरेका थिए । प्राकृतिको भण्डारको रुपमा रहेका विभिन्न कुण्ड, हिमाल र लाङटाङ निकुञ्जको चिनारीको लागि पनि जनैपूर्णिमा पर्वले गोसाईकुण्डको महिमा जीवन्त राख्न सहयोग पु¥याउदै आएको छ ।
गोसाईकुण्ड गाउँपालिका ५ मा अवस्थित गोसाईकुण्डसमुद्रि सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ । गोसाईकुण्डमा हरेक बर्ष गंगादशहरा र जनैपूर्णिमा गरि बर्षको दुई पटक मेला लाग्ने गर्दछ । सन् २००७ सेप्टेम्वरमा गोसाईकुण्ड रामसार सुचिमा समेत सुचिकृत छ । रसुवाको सदरमुकाम धुन्चेबाट देउराली, लौरीबिनायक, चन्दनबारी, चोलाङपाटी हुदै पुगिने गोसाईकुण्ड सहित आसपासका एक सय ८ भन्दा बढी कुण्ड स्नान तथा अवलोकनको लागी पुगेका तिर्थयात्रीको आकर्षणको केन्द्र बनेको छ ।
रसुवा–नुवाकोट लगायतका स्थानबाट आएका तामाङ तिर्थयात्रीहरुको पोषाक, खाना, ड्याङग्रो र लामा नाँच तथा उनीहरुकै शैलीमा गाइएको सेलोले तिर्थयात्रीको ध्यान तान्ने गर्दछ । ऐतिहासिक धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्व बोेकेको गोसाईकुण्डसगैं भैरव, सरस्वती, गणेश दुध, सुर्य लगायतका कुण्डहरु आन्तरिक तथा विदेशी पर्यटकको लागि अहिले गन्तव्य स्थल बनेको छ । जसले गर्दा लाखौको भत्तजनहरु प्रत्येक वर्षको रसुवा घुम्न आउने गरेका छन ।











प्रतिक्रिया