किरन धामी । दार्चुला लगायत सुदुरपश्चिममा गौरापर्वको चहलपहल सुरु भएको छ । यसक्षेत्रका महिलाहरुको प्रमुख चाडका रुपमा रहेको गौरा विधिवत रुपमा आजबाट सुरु भएको छ । गौराको लागी विरुडा जुटाउने तथा केलाउने काम समेत सुरु भएको छ । आजका दिन मास, गहत, गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका अन्न मिश्रित पञ्चबिरूडा शुद्ध र सफा कोठामा भिजाएर राख्ने चलन रहिआएको छ ।
पार्वतीले कठोर तपस्या द्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मुलतः गौरी अर्थात पार्वतीको पुजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहन गएको विश्वास गरिन्छ । यस पर्वमा शिव पार्वती सम्बन्धी विभिन्न कथाहरू भनिने र गीतहरू लयबद्ध रूपमा गाइने भएकाले यसलाई गीति पर्वका रूपमा पनि लिइन्छ ।
गीतमार्फत अठबालि गाउने, देउडा खेल्ने र देवी देवताका गाथाहरु गाउने गरिन्छ भने महिलाहरुले गीत मार्फत दुःख सुखका कुराहरु प्रस्तुत गन गर्दछन । अन्य पर्वहरू जस्तो यो पर्व आफ्ना इष्टमित्र र नाताकुटुम्बमा मात्र सिमित नरही सम्पुर्ण जनसमुदायको व्यापक सहभागितामा मनाइने भएकाले सामुहिक एकताको भावना यस पर्वको मुख्य विशेषता रहेको छ । एक साता सम्म मनाइने यो पर्वलाई काम पछिको विश्राम र आफन्तजनसँगको भेटघाटको अवसरका रुपमा पनि लिने गरिन्छ ।
गौरा पर्वकै अवसरमा गाउँघर देउडामय बन्दै गइरहेका छन् । खास गरी सुदर पश्चिमकै विशेष पहिचान तथा मौलिकताको रुपमा रहेको देउडा गौरा अवधी भर खेल्ने गरीन्छ । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्व शुक्रबारबाट सुरु भए संगै प्रायः दार्चुलाका गाउँघरहरुमा अहिले चहलपहल बढनुका साथै देउडामय बनेका छन् । जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्र गल्फै, धाप, मालिकार्जुनको भौतडी तथा मड भणाँरी घर लगायतका ठाउँहरुमा रातभरी देउडा खेल हुने गरेको छ ।
दिनमा सबै काममा व्यस्त हुने तथा रातीको फुर्सदिलो समयमा बालक देखि वृद्ध वृद्धा महिला पुरुष सबै जमा भएर देउडा खेल्ने गरिन्छ । महिला तथा पुरुष दुबैको सहभागितामा कलात्मक तरिकाले नाचिने नाचँलाई जिल्लाको लेकम क्षेत्रमा देउडा खेल भन्ने गरिन्छ भने दुहुँ क्षेत्रमा गन्जा भन्ने चलन छ । केही वर्ष अघिसम्म गौरा सुरु हुनु भन्दा पहिले देखी नै देउडा खेलीने गरिएको छ ।
देउडामा माया प्रेम देखीका समाजमा रहेका सबल तथा दुर्लभ पक्ष सबै जोडेर देउडीयाले गीत जोड्ने गर्दछन भने अरुले लय हालेर गाउने गर्दछन् । यसैगरी ठाडो खेल ढुस्कु लगायतका विभिन्न लोकलयहरुलाई लयबद्ध गर्दै गौराको आगमन संगै दार्चुला देउडामय बनेको छ । तर, पछिल्लो समय देउडा लगायतका मौलिक लोकलयहरुमा समेत विकृति भित्रिदै गएको प्रति पाको पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।……..











प्रतिक्रिया