छाउले गांजेको ढकरी आदिम युगमा

0
Shares

धर्मेन्द्र बि सी
अछाम । सुदूर पश्चिमाञ्चलका अधिकांश पहाडी जिल्ला छाउपडी गोठमुक्त घोषणा गरेपनि जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठ अझै कायमै रहेका छन् । जिल्लाका केही स्थान बाहेक महिला रजस्वला भएका वेला घरवाट टाढा गोठ वनाएर राख्ने कु–संस्कार अहिले सम्म व्याप्त रहेकोे छ ।

अछामको धेरैजसो क्षेत्रमा छाउपडी प्रथालाई कायमै राख्ने गरेको पाइएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा ढकारी गाँउपालिकामा छाउपडी गोठ बढी मात्रामा रहेका छन । रजस्वला भएको वेला महिलालाई दूध, दही, मोही, मह, घ्यू जस्ता पोसिला खाने कुराबाट बञ्चित गर्ने परम्परा अझै रहेको छ । छाउ भएको वेला पानीका मुहान, धारा,तरकारी खेती,फलफुलका बोट बिरुवा,घरपालुवा जनावरलाई छुन समेत नदिने परम्परा कायमै रहेको छ ।

छाउ भएको बेला यस क्षेत्रका महिलाहरुले शौचालय समेत प्रयोग गर्नबाट बन्चित रहदै आएका छन । रजस्वला भएको बेलामा सात दिन सम्म बाहिर बस्नु पर्ने र सातै दिन शौचालय प्रयोग गर्न नपाउने गरेको ढकारी गाँपालिका २ कि राजु रानाले बताउनुभयो । सबै परिवारले एउटै चर्पी प्रयोग गर्ने र छाउपडी लसपस हुन्छ र लसपस हुदा घरपरिवारका सदस्य बिरामी हुने देउता रिसाउने भन्दै छाउ भएको बेलामा चर्पी प्रयोग गर्नबाट बन्चित हुनु परेको ढकारी गाउँपालिका ३ की निर्जला शाहीले बताउनुभयो ।

छाउ भएको बेला खुला ठाँउमा दिशापिसाब गर्न निकै असजिलो हुने र कसैले देखिहाल्ने डरले ढुक्कले दिशापिसाव समेत गर्न नसकिने ढकारी गाँपालिका २ की जानकी रोकाया साउँदले बताउनुभयो ।

छाउभएको बेलामा राम्रो संग सुत्न समेत पाउदैनौ गाउँमा जाड खाएर रातभरी हल्ला गर्ने मान्छे कतै आफू बसेको छाउगोठमा आउने डरले अनिदो हुनु परेको ढकारी गाँउपालिका २ की अमृता बुढाले बताउनुभयो ।
पोसिलो खानेकुरा खान नपाउँदा महिलाहरुको स्वास्थ्य कमजोर हुने र विभिन्न रोगहरुको संक्रमण हुने ढकारी स्वास्थ्य चौकीकी अनमी दिक्षा बिसीले बताउनुभयो ।

ढकारी गाउँपालिका १ की पार्वती बुढाले गाउँ वाट दुध, दही किनेर खादा कसैका वस्तु भाउ नमरेका तर घरको खादा मर्ने अन्धविश्वास रहेकाले यो कुप्रथाको े अन्त्य हुनु पर्ने बताउनु भयो ।

सुदुरपश्चिमका पहाडी जिल्लामा छाउपडी प्रथा अझै विकराल रुपमा रहेको छ । अछाम जिल्लामा अहिले सम्म छाउगोठमै धेरै जना महिलाले ज्यान गुमाई सकेका छन् ।