धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमका बिभिन्न बिद्यालयमा पहिलो पटक प्राबिधिक शिक्षाको पढाई हुने भएको छ । प्राबिधिक शिक्षा पढ्नका लागी जिल्ला बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकामा प्राबिधिक शिक्षा तथा व्यवसायिक परिषदबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इन्जीनियरिङको पढाई संचालन हुने भएको हो ।
जिल्लामा कम्प्युटर इन्जीनियरिङको पढाई हुने भएपछि कम खर्चमै बिद्यार्थीहरुले कम्प्युटर इन्जीनियरिङ पढ्न पाउने भएका छन् । बाँफिकोट गाँउपालिकाको बिरेन्द्र माध्यामिक बिद्यालयमा पहिलो पटक कम्प्युटर इन्जीनियरिङको पढाई हुने भएकोले यसलाई व्यवस्थीत गर्नका लागी सबैसँग सहकार्य गरेर अघि बढ्ने बिद्यालयका प्रधानाध्यापक रत्नबहादुर के.सीले बताउनुभयो ।
बिद्यार्थीलाई गुणस्तरिय शिक्षा दिएर आफ्नै ठाँउबाट जनशक्ति उत्पादन गर्ने लक्ष्य बिद्यालयको भएको बिरेन्द्र माबि बाँफिकोटका बिद्यालय व्यवस्थापन समिती अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।
सामुदायिक बिद्यालयमा शिक्षाको प्रबिधिको प्रयोग गरेर शिक्षामा गुणस्तर ल्याउन गाँउपालिकाले पहल थालेको बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो । रुकुममा पहिलो पटक प्राबिधिक शिक्षाको पढाई हुने भएपछि बिद्यार्थीहरुमा पनि खुसीयाली छाएको छ । महंगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था अन्त्य भएसँगै आफ्नै घरको खाना खाएर कम खर्चमा पढ्न सकिने अपेक्षा बिद्यार्थीहरुको छ ।
यसै गरी मुसिकोटमा पनि ३ बर्षे सिभिल ओभरसियरमा पठाई हुने भएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटि) ले यस शैक्षिक सत्र देखि सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माबिलाई सिभिल ओभरसियरको कक्षा संचालन गर्न अनुमति दिएको हो । लामो समय प्रतिक्षा पछि रुकुम पश्चिम जिल्लामै पहिलो पटक सिभिल ओभरसियरको ३ बर्षे पढाई शुरु हुन लागेको बिद्यालयका प्राचार्य हरि प्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयले एक शैक्षिक शत्रमा बढीमा ४८ जना सम्म बिद्यार्थीहरु पढ्न पाउने छन ।
‘रुकुमेली बिद्यार्थीहरुको लागि यो खुसिको कुरा हो, यसअघि रुकुम सगै छिमेकी जिल्लाहरु सल्यान र जाजरकोट सम्म पनि यो कक्षा थिएन’ उहाँले भन्नुभयो ‘देशका मुख्य सहर र राजधानीमा गएर पढ्नुपर्ने बिद्यार्थीहरु अब आफ्नै आटोपिठो आएर सिभिल ओभरसियरको पढाई गर्न सक्छन ।’ ४८ जनाको सिटमा ४ जना सिटिईभिटिले नै छात्रबृत्तिमा पारेका बिद्यार्थीहरु निशुल्क अध्ययनका लागि आउनेछन भने १ जना प्रबेश परिक्षामा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी पनि निशुल्क पढ्न पाउनेछन । त्रिभुवन जनता माबि रुकुम जिल्लाकै सबैभन्दा जेठो बिद्यालय हो ।
कसले पढ्न पाउछन ?
सिभिल ओभरसियरमा भर्ना हुनलाई यसअघि प्राबिधिक एसएलसी पढेका वा हालको एसईईमा सहभागी बिद्यार्थीहरुले कम्तिमा गणित र बिज्ञान बिषयमा सि र अन्य बिषयमा डि प्लस ग्रेड ल्याएको हुनुपर्छ । त्यस्तै न्यूनतम दुई जिपिए पनि ल्याउनु पर्छ । कति लाग्छ खर्च ? सिभिल ओभरसियर पढाईको क्रममा लाग्ने खर्च बिद्यार्थीको ब्यक्तिगत जीवनशैली, खानपान र अन्य हिसाबले पनि खर्च कम वा बढी हुने भन्ने कुरा निर्धारण हुन्छ । तर सामान्यतया ३ बर्षमा ३ लाख सम्म खर्चमा पढाई सक्काउन सकिन्छ ।
बिद्यालयका प्राचार्य खनालका अनुसार प्रत्येक बर्ष बिद्यालयले प्रति बिद्यार्थी १ लाख रुपैयाँ खर्च लाग्छ । ‘हामीले एउटा बिद्यार्थीबाट १ लाख रुपैया १ बर्षमा लिन्छौं, ३ बर्षमा ३ लाख खर्च हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसबाहेक सिटिईभिटिले केहि थोरै मात्र शुल्क पनि लिनसक्छ अनी बिद्यार्थीको ब्यत्तिगत खानपान र बसाई खर्च त छुट्टै भयो ।’ सिभिल ओभरसियरको प्रयोगात्मक कक्षा संचालनमा लागि बिद्यालयले करिब १६ लाख रकम खर्च गरेर सामाग्री समेत ल्याएको छ ।
‘बिद्यालय प्रशासन, जिल्ला स्थित राजनीतिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने बिद्यार्थी संगठनका नेतृत्व र सरोकारवाला सबै निकायहरुको सहयोगले यहाँ सम्म बिद्यालय आएको छ’ प्राचार्य खनालले भन्नुभयोे, ‘सबैको सहयोग र यसरी नै प्राबिधिक तथा व्यवसायिक शिक्षा बिद्यालय निरन्तर दिईराख्ने छ ।’











प्रतिक्रिया