धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिम मुसिकोट नगरपालिका रातामाटाका नरबिर बि.क २०५८ साल फाल्गुन १२ गते शिक्षा दिवस मनाउने भनि घरबाट निस्कीए । उनी बिद्यालयका अरु साथीहरुसँगै खलंगा पुगे । शिक्षा दिवसमा मावि रातामाटाका बिद्यार्थी सहकर्मी साथीहरु र शिक्षकहरुसँगै र्यालीमा सहभागी भए । कक्षा १० मा पढ्दै गरेका नरबिर बि.कलाई बोहरागाँउ स्थित तत्कालिन शाही नेपाली सेनाले बोलायो ।
उनलाई आफ्ना साथीहरुसँगै रहेको बेला सेनाले बोलाएपछि उनी सेनाको क्याम्पमा गए तर अहिले सम्म पनि फर्केका छैनन् । सोही दिन साँझ नै घरमा आइहाल्छु भनेर निस्कीएका नरबिर १२ बर्ष पछिको फाल्गुन १२ सम्म पनि आइपुगेनन् । तर घरपरिवारको अझै आस मरेको छैन । उनीहरु राज्यलाई एउटा मात्रै माग भएको बताउँछन् कि सास चाहियो कि लास चाइयो । नरबिरका भाई गोबिन्द भन्छन् “राज्यले कित दाई जिबितै छ भनेर भनिदिनुपर्यो कि लास दिनुपर्यो ।” एमाले निकट अनेरास्वबियुका जिल्ला कमिटी सदस्य रहेका नरबिर एमालेको सांगठनिक कार्यमा निकै खपिस मानिन्थे ।
यस्तै त्रिबेणी गाँउपालिका रुँघाका नरबहादुर बोहरा पनि २०५८ फाल्गुन १२ गतेकै दिन झुल्नेटा बजारमा चामल लिन गएका थिए । घरमा परिवारलाई साँझ चामल लिएर जसरी पनि आउँछु भनेर गएका बोहरा १२ बर्ष पछि अर्थात २०७२ फाल्गुन १२ सम्म पनि घरमा आएका छैनन् । बुवा चामल लिएर साँझ आउनुहुन्छ अनि भात पकाएर खुवाँउला भनेर बालबच्चालाई फकाएकी उनकी श्रीमतीले अहिले छोराछोरीलाई फकाउन मुस्कील भएको बताउँछिन् । साँझ बिहानको छाक टार्न धौ धौ हुने बोहरा परिवारमा अहिले सम्म पनि आस मरेको छैन । उनका भाई बसन्त बोहरा भन्छन् “दाई कतै टुप्लुक्क पो आइहाल्नुहुन्छकी भन्ने आस लाग्छ ।
उनले पनि बेपत्ता पारिएका परिवारको छानबिन आयोगलाई तत्कालन छानबिन गर्न माग गरे ।” यस्तै सानीभेरी गाँउपालिका दुली की चन्द्रकला बाँठामगर पनि १५ बर्षको उमेरमा बेपत्ता भइन् । बिद्रोही पक्षले उनलाई बेपत्ता बनाएको परिवार स्रोतले जनाएको छ । उनकी दिदि मनु बाँठाले आफ्नो बहिनीको कि सास चाहियो कि लास चाहियो भनेर जोडदार माग गरिन् । मुसिकोट नगरपालिका भलाक्चाका लालबहादुर पुन पनि बेपत्ता भएका छन् । उनका परिवार पनि अहिले सम्म लालबहादुरको पर्खाईमा छन् । यति मात्र होइन रुकुममा अहिले सम्म बेपत्ता भनेर निबेदन दिएका १३ जनाका परिवार र बेपत्ता भएर पनि राहतको लागी मृतकको सुचीमा नाम दर्ता गरेका वेपत्ता पनि धेरै छन् । उनका परिवारले अहिले सम्म पनि आसा मारेका छैनन् ।
बिहिबार अन्र्तराष्ट्रिय बेपत्ता बिरुद्धको दिवस मनाइरहँदा रुकुमका बेपत्ता परिवारले आफ्नो बेपत्ता भएको परिवारको सदस्यको आसा मारेका छैनन् । तर उनीहरु राज्यले वेवास्था गरेको गुनासो गर्दछन् । रुकुम पश्चिमको मुसिकोटमा भएको कार्यक्रममा जिल्ला समन्वय समिती रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले बेपत्ताहरुको खोजीको लागी पछी नपर्ने बताउनुभयो । मुसिकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार के.सीले अझै पनि पत्ता नलाग्नु दुखद भएको धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले बेपत्ता आयोगले प्रभावकारी रुपमा काम गरेर पहिचान गर्ने अपेक्षा प्रकट गर्नुभयो ।
रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम र मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)ले गरेको कार्यक्रममा जिल्लाका बिभिन्न सरोकार राख्ने निकाय र वेपत्ता परिवारको सहभागिता रहेको थियो । हरप्लेसका संयोजक सुरेन्द्र खत्रीको सहजीकरण र रेडक्रसका सभापति शिवराम खत्रीको अध्यक्षतामा अन्र्तराष्ट्रिय बेपत्ता बिरुद्धको दिवसको औपचारिक कार्यक्रम भएको थियो ।











प्रतिक्रिया