महेश न्यौपाने, रोल्पा
वर्षेनी लाखौ विरुवा रोपिएको सरकारी तथा गैर सरकारी निकायले तथ्यांक प्रस्तुत गरिरहदा जिल्लाको वन क्षेत्रको फैलावटमा भने तात्विक परिवर्तन नदेखिएको सरोकारवालाहरुले वताएका छन ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले ५ नंवर प्रदेश सरकारलाई लेखेको पत्रमा जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा १ लाख ९३ हजार ४९५ फलफुल विरुवा वितरण गरेको उल्लेख गरेको छ । सुन्तला, कागती, अनार, आँप, लिचि,केरा, ओखर, स्याउ र किवि गरि ९ प्रजातीका विरुवा वितरण गरिएको पत्रमा उल्लेख छ । यसरी वितरण गरिएका विरुवामा सवभन्दा धेरै सुन्तला ५९ हजार ९१० र सवभन्दा कम किवि ३ हजार ५० रहेको उल्लेख गरिएको छ ।
कृषकहरुको आयआर्जनका लागी वितरण गरिएका ती विरुवा जिल्ला कृषि विकास कार्यालय, कृषि सेवा केन्द्र र स्थानीय सरकारहरुले वितरण गरेका हुन । जिल्लामा जिल्ला कृषि विकास कार्यालय संग समन्वय नगरि विभिन्न गैर सरकारी संस्था र परियोजनाहरुले समेत विरुवा वितरण गर्दै आएका छन । किसानले आफ्नै लगानीमा रोप्ने विरुवाको संख्या पनि ठूलै हुने गर्दछ ।
जिल्ला वन कार्यालय रोल्पाले गत वर्ष जिल्लाका विभिन्न ४ वटा कवुलियति वन उपभोक्ता समूहलाई ९ हजार अम्रीसो र नेपिएरको विरुवा वितरण गरेको थियो । सोही वर्ष जिल्लाका २० कवुलियति वन उपभोक्ता समूहलाई अम्रिसो १२ हजार अन्य डाले घाँस ६ हजार ५०० गरि १८ हजार ५०० विरुवा वितरण गरेको थियो ।
सोही कार्यालयले नमूना क्लष्टर सुदृढीकरण अन्तरगत विभिन्न १० वटा कवुलियति वन उपभोक्ता समूहमा ८ हजार टिमुर प्रजातीको विरुवा वितरण गरेको जनाएको छ । गैर काष्ट वन पैदावर विरुवा खरिद तथा रोपण शिर्षकमा जिल्लाका ७ वटा कवुलियति वन उपभोक्ता समूहमा १४ हजार अम्रीसो विरुवा वितरण गरिएको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । जडिवुटी विस्तार कार्यक्रम अन्तरगत जिल्लाका ९ सामुदायिक वनले ९ हजार १६५ टिमुरको विरुवा रोपेका थिए ।
वृक्ष सुधार, वुक्षारोपण तथा नीजि वन कार्यक्रम अन्तरगत लिवाङ ईलाका वन कार्यालयले ३० हजार विभिन्न प्रजातीका विरुवा उत्पादन गरेको थियो । यसै गरि जिल्लाका १० वटा विभिन्न सामुदायिक वन उपभोक्ता समूहले १ लाख ५१ हजार १४५ विरुवा उत्पादन गरेको जिल्ला वन कार्यालय रोल्पाको अभिलेखमा उल्लेख गरिएको छ ।
अघिल्लो वर्ष जिल्लामा काष्ठ, गैर काष्ठ, फलफुल तथा डाले घाँस समेत गरि ४ लाख ३३ हजार विरुवा उत्पादन तथा वितरण गरिएको संवन्धित कार्यालयको अभिलेखवाट स्पष्ट हुन्छ । जिल्लामा रहेका ६३७ सामुदायिक वन उपभोक्ता समूहले समेत हरेक वर्ष वन व्यवस्थापनका लागी नियमानुसार विनियोजन गर्ने वजेट मध्ये वृक्षारोपणमा खर्च गर्ने गरको वताईन्छ ।
जिल्लामा अम्रिसो, नेपियर जस्ता विरुवा जिल्ला पशु सेवा कार्यालयले समेत वितरण गर्ने गर्दछ । कृषि, वन र पशु क्षेत्र संग संवन्धित परियोजनाहरुले समेत हरेक वर्ष लाखौको संख्यामा विरुवा वितरण गरेको तथ्यांक देखिए पनि जिल्लाको वन क्षेत्र भने खासै विस्तार भएको छैन ।
विरुवा उत्पादन र वितरण गर्ने निकायले वृक्षारोपन पछिको गतिविधिमा ध्यान नदिने भएकाले रोपन गरिएका अधिकांश विरुवा मर्नुका साथै प्रतिफल समेत दिन नसकेको सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिं डाँगीले वताए । विरुवा वितरण पछि पनि निरन्तर अनुगमन हुन नसक्दा जिल्लाको क्षेत्रफल भन्दा धेरै वन क्षेत्रमा वृक्षारोपण भएको तथ्यांक देखिए पनि वनको हैसियतमा सुधार आउन सकेको छैन डाँगीले भने ।
विगतमा रोपिएका भनिएका अधिकांश विरुवा कागजमा सिमित भएको डागीको भनाई छ ।











प्रतिक्रिया