‘कर्मचारीतन्त्रमा देखिएको घूसखोरी अन्त्य गर्नुपर्छ’

0
Shares

नेपाल समाचारपत्र, चितवन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी कर्मचारीतन्त्रमा देखिएको घुसखोरीको अन्त्य गर्नुपर्ने बताएका छन् ।
आज चितवनको भरतपुरमा आयोजित निर्माण व्यवसायी संघ चितवनको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राज्यका कर्मचारीहरुमा पाईले पिच्छे बेतिथि रहेको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए । उनले यस्ता बेतिथिलाई अन्त्य गर्दै राज्यले पहिलो संकल्पको रुपमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले सरकारी कर्मचारी र ठूला ठेकेदारहरुबीच सिण्डिकेट रहेको भन्दै यसलाई तोड्न सरकार लाग्नुपर्ने बताए । ठेकेदारलाई प्याकेजमा दिने ठेक्का पट्टाले नै घुसखोरी मौलाएको प्रचण्डको भनाई छ ।

प्रचण्डले भने–“प्रधानमन्त्री हुँदा मैले सचिवहरुलाई सबै ठेकेदारहरुलाई बाडेर ठेक्का दिउँ भन्दा मानेनन्, यसमा त सेटिङ हुँदो रहेछ, सचिवहरुले हुन्छ हुन्छ भन्छन् तर गर्दैनन् ।” अध्यक्ष प्रचण्डले थप्दै भने–“प्याकेजमा दिने भनेको त सेटिङ रहेछ, त्यो कर्मचारीहरुलाई दुध भात खाको जस्तै रहेछ ।”

अध्यक्ष प्रचण्डले ठूला–ठूला ठेकेदारहरुले एकाधिकार जमाएको भन्दै यसको सिण्डिकेट सबै मिलेर हटाउनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले राज्यको गलत स्कुलिङले व्यवसायी र राज्यबीच आरोप प्रत्यारोप हुने गरेको बताए । उनले राज्य आफै पारदर्शी र विधि, नियम नबनाएकोले यो समस्या आएको बताए । उनले भने–“राज्यले व्यवसायीलाई र व्यवसायीले राज्यलाई आरोपित गरेको छ, यो गलत संस्कार हो, यो राज्यले नै चलाएको गलत स्कूल हो ।”

यस्तै अध्यक्ष प्रचण्डले अहिले देश निर्माण गर्ने बेला आएकोले सबै दलहरुले समझदारी पूर्ण रुपमा अघि बढ्नुपर्ने बेला आएको बताए । गिरिजा प्रसाद कोइरालाले आफूलाई भनेको कुरा सम्झदै भने–“उहाँले पुराना कुरा छोडौं नयाँ तरिकाले अघि बढौं भन्दा मैले मान्दिनथे, त्यो बेला बहुत ठूलो क्रान्तिकारी भईयो, अहिले त्यसैले दुःख पाईया छ ।

यस्तै अध्यक्ष प्रचण्डले कर बढेको विषयमा सरकार गम्भिर बन्नुपर्ने भन्दै अनावश्यक रुपमा बढाईएको ठाउँमा समायोजन गर्नैपर्ने बताए । तर जनताले आवश्यक मात्रामा कर तिर्नै पर्ने बताए ।