भरतपुर अस्पतालको जग्गा फिर्ता ल्याउन प्रचण्डको निर्देशन

0
Shares

कृष्ण आचार्य, चितवन
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार भरतपुर अस्पतालको निरिक्षण गरेका छन् । दिउसो १ बजे अस्पताल परिसर पुगेका प्रचण्डले अस्पतालको स्वामित्वमा रहेको खाली जमिन,आकस्मिक कक्ष, टिकट काउण्टर लगाएतको निरिक्षण गरेका थिए ।

निरिक्षण पश्चात अध्यक्ष प्रचण्डले अस्पतालको स्वामित्वमा भएर अन्य संघसंस्थाले भोगचलन गरेको जमिन फिर्ता ल्याउने अभियानमा लाग्न अस्पताल प्रशासनलाई निर्देशन दिए । “निरिक्षणको क्रममा संगै रहेका अस्पतालका पुर्वअध्यक्ष तथा प्रदेश सांसद विजय सुवेदीलाई प्रश्न गर्दै प्रचण्डले साधेः विजय जि अस्पतालको जग्गा फिर्ता ल्याउन सम्भव छ ? संधै हंसिला सांसद सुवेदीले हांस्दै जवाफ दिए–सम्भव छ किन नहुनु ! तर सबैको साथ चाहिन्छ ।”

प्रचण्डले अस्पताललाई ब्यवस्थित र सुविधासम्पन्न बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । निरिक्षणका क्रममा विरामीको निकै भिडभाड देखेपछि प्रचण्डले कसरी ब्यवस्थापन गर्नुभएको छ भनेर सोधेका थिए । भिडभाडकै वीचमा रहेका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रविन खड्काले यस अघिका समितिहरुले अस्पतालको जग्गा फिर्ता लिन गरेको प्रयास बारे प्रचण्डलाई जानकारी गराएका थिए । उनले स्रोत साधन र कर्मचारीको अभावमा भिड ब्यवस्थापनमा जटिलता कायमै रहेको प्रतिकृया दिए ।

यसैबिच अष्ट्रेलियन राजदूत लक्की शेर्पाले पनि प्रचण्डसंगै अस्पतालको निरिक्षण गरेकी छन् । अस्पतालको आकस्मिक सेवा,ओपिडी,हाडजोर्नी विभाग,प्रशुती विभाग लगाएतको अवलोकन गरेकी राजदुत शेर्पाले अस्पताल प्रशासन र चिकित्सकहरुसंग अन्तरकृया समेत गरेकी थिइन् ।

सो अवसरमा उनले अष्ट्रेलियन प्रविधि,त्यहाँका चिकित्सकहरुको ज्ञानलाई नेपाली चिकित्सक र अस्पतालहरुसंग जोड्न सकिने बताइन् । उनले धेरै नेपाली चिकित्सकहरु अष्ट्रेलियामा राम्रो काम गरेर बसेकोले उनिहरु मार्फत नेपालमा कार्यरत चिकित्सकहरुको दक्षता र क्षमता बढाउन सकिनेमा जोड दिइन् । पहिलो चरणमा ज्ञान आदान प्रदान,दोस्रो चरणमा हाडजोर्नी बिभागका लागि केही उपकरण र अन्त्यमा ट्रमा सेन्टर निर्माणका लागि सहयोग गर्न आफु प्रतिबद्ध रहेको राजदूत शेर्पाको भनाई थियो ।

सो अवसरमा अस्पतालका मेसु डा. रबिन खड्का हाडजोर्नी बिशेषज्ञ डा.श्रवण कुमार थापा, प्रशुति बिभाग प्रमुख डा.सुनिलमणि पोखरेल, फिजिसियन डा. भोजराज अधिकारी लगाएतले अस्पतालको बर्तमान अबस्था,समस्या र भावि रणनितिका बारेमा जानकारी राजदूत शेर्पालाई जानकारी गराएका थिए ।