चिरञ्जीवी मास्के, दोलखा
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जिल्लावासीको लागि छुट्टाईएको १० प्रतिशत सेयर भर्ने म्याद सात दिन थप गर्न आयोजनाको प्रवद्धक कम्पनि तामाकोसी हाईड्रो पावरले धितोपत्र बोर्डलाई अनुरोध गरेको छ ।
सेयर आवेदन भर्ने म्याद दुई दिनमात्र बाँकी रहदा करिब आधिमात्र जिल्लावासीले सेयरको लागि आवेदन दिएकोले जिल्ला समन्वय समिति दोलखाले माथिल्लो तामाकोसी आयोजनाको प्रवद्धक कम्पनि तामाकोसी हाईड्रो पावरलाई म्याद थपको लागि आग्रह गरेको थियो ।
रकमको हिसाबले धेरै सङ्कलन भएपनि जिल्लाको अनुमानित जनसंख्याको हिसाबले करिब आधिलेमात्र सेयर आवेदन भरेकोले म्याद थपको लागि आयोजनाको प्रवद्धक कम्पनि तामाकोसी हाईड्रो पावर मार्फत धितोपत्र बोर्डलाई आग्रह गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट प्राप्त तथ्याङ्क अनुसार सोमवारसम्ममा एक लाख ५६ हजार दोलखालीले सेयरको लागि आवेदन भरेका छन् । आवेदन भर्ने अन्तिम दिनसम्म जन्मेको दोलखालीले समेत सेयर हाल्न पाउने भएकोले सेयरको लागि योग्य संख्या करिब तीन लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्याको हिसाबले आवेदन भर्नेको संख्या आधिमात्र पुगेकोले विशेष अधिकारको रुपमा पाएको आयोजनाको सेयर भर्ने अवसरबाट कोहि पनि दोलखाली नछुटुन भन्ने उदेश्यले म्याद थपको लागि धितोपत्र बोर्डलाई अनुरोध गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको भनाई छ ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने जिल्ला समन्वय समितिको आग्रह अनुसार आयोजनाको प्रवद्धक कम्पनि तामाकोसी हाईड्रो पावरले धितोपत्र बोर्डलाई एक हप्ता म्याद थपको लागि अनुरोध गरेको तर म्याद थप हुने नहुने बारे भदौ १४ गते विहिवारमात्र थाहा हुने बताउछन् । धितोपत्र बोर्डको नियम अनुसार म्याद थप गर्न नमिल्ने भएपनि दोलखालीको लागि विशेष व्यवस्था भएको १० प्रतिशत सेयर भर्ने अवसरबाट कुनै पनि दोलखाली नछुटुन भनेर म्याद थपको लागि आग्रह गरिएको आयोजनाका प्रवक्ता डा न्यौपाने बताउछन् ।
दोलखाको लामाबगरमा निमार्णाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनामा दोलखालीको लागि एक अर्ब ५ करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता (१० प्रतिशत) सेयर छुट्टाईएकोमा सोमवारसम्म एक लाख ५६ हजार दोलखालीबाट २ अर्ब ६४ करोड रकम सङ्कलन भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले जानकारी दिए ।











प्रतिक्रिया