१६ गतेदेखि चिकित्सक संघले आन्दोलन गर्ने

0
Shares

काठमाडौं, (नेस) ।मुलुकी ऐन अपराध संहितासम्बधी व्यवस्था सच्याउँन सरकार संवेदशील नभएको भन्दै नेपाल चिकित्सक संघले भदौ १६ देखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।

संघले विभिन्न शाखा अध्यक्ष, तथा सचिव अस्पताल निर्देशकलगायतको परामर्शपछि आन्दोलनमा जाने निर्णय गरेको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी गराउनुभयो । घोषित कार्यक्रमअनुसार चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र र अप्रोन काउन्सिलमा बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । डा. श्रेष्ठ भन्नुहुन्छ– ‘प्रमाणपत्र काउन्सिमा फिर्तासँगै सेवा स्वतः अवरुद्ध हुन्छ ।’

संघले बन्द नभनीकनै प्रमाणपत्र बुझाउन सदस्यहरुलाई आह्वान गरेको छ । प्रमाणपत्रविना चिकित्सकले सेवा प्रवाह गर्न नसक्ने भएकाले स्वतः सेवा रोकिने संघको बुझाइ छ । संघका अध्यक्ष श्रेष्ठले देशभरका शाखाहरुले एप्रोन र लाइसेन्स संकलन गरिरहेको समेत जानकारी दिनुभयो ।

यो आन्दोलनमा नेकपा निकटका चिकित्सकहरुले समेत साथ दिने अध्यक्ष श्रेष्ठको भनाइ छ । संघले ०७५ साल भदौ १ गते देखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा तत्काल संसोधनको माग गर्दै आएको छ । यसअघि संघले सरकारको आश्वासनमा भदौ १५ सम्मका लागि आन्दोलन स्थगित गर्ने घोषणा गरेको थियो ।