प्रधानमन्त्रीले एउटामा मात्र मतदान गर्ने

0
Shares

काठमाडौं, (नेस) । प्रधानमन्त्रीले प्रतिनिधिसभाको विषयगत समितिमध्ये एउटामा मात्र मतदान गर्नुहुने भएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ ले प्रधानमन्त्रीलाई सबै समितिको पदेन सदस्यका रुपमा राखेको छ । मन्त्रीले भने सम्वन्धित समितिमा मतदान गर्न पाउने छन्, मन्त्री समितिको सदस्य रहँदैनन् ।

पदेन सदस्यले कुन समितिमा मतदान गर्ने भन्ने जानकारी निर्वाचन सूचना प्रकाशित भएको २४ घण्टाभित्र सभामुखलाई दिनुपर्ने छ । कुनै सदस्य त्यही समितिको सदस्य नरहेमा र अर्को समितिको बैठकमा भाग लिन चाहेमा बैठक बस्नुभन्दा १ दिन अघि नै सभापतिलाई जानकारी दिनुपर्ने छ ।

प्रतिनिधिसभाका विषयगत समितिको निर्वाचन आगामी आइतबार हुँदैछ । नियमावलीले निर्वाचन हुनुभन्दा अघिल्लो दिन साँझ ५ बजेसम्ममा समितिको कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना सचिवलाई दिनुपर्ने छ ।

सभापतिले मत बराबर भएको अवस्थामा बाहेक मतदान गर्न पाउने छैन । सभापति नछानिँदा अहिले समितिका जेष्ठ सदस्यले अध्यक्षता गर्दै आएका छन् ।

सभापतिको उम्मेदवारका लागि एकमात्र प्रस्ताव दर्ता भए समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्दै आएका सदस्यले नयाँ सभापति चयन भएको घोषणा गर्ने छ । प्रतिनिधिसभामा १० वटा समिति रहेका छन् ।

प्रतिनिधिसभाका कार्यव्यवस्था महाशाखाका सहसचिव वंशीराज पौडेलले नियमावलीमा ४८ घण्टाअगावै निर्वाचनसम्वन्धी सूचना दिनुपर्ने भएपनि त्योभन्दा अघि नै सूचना गरिएको बताउनुभयो । नियमावलीमा कम्तीमा एक तिहाई सभापति महिला हुनुपर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा मंगलबार निर्विरोध सभापति भएका ३ वटा समितिका सभापतिको बुधबार सपथग्रहण भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परशुराम मेघी गुरुङ, रामनारायण बिडारी, दिलकुमारी रावल थापा (पार्वती) लाई सफथ खुवाउनुभएको हो ।

राष्ट्रियसभामा रहेका ४ वटा समितिमध्ये नेपाली कांग्रेसको भागमा परेको दीगो बिकास तथा सुशासन समितिमा कुनैपनि उम्मेदवारी परेको थिएन । कांग्रेसले तारादेवी भट्टलाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभाले अर्को कार्यतालिका प्रकाशित गरी भट्टलाई सभापति चयन गर्ने छ । भट्ट यो समितिको सदस्य नरहेकाले प्रक्रिया ढिलो भएको कांग्रेसले जनाएको छ ।