मेक्सिको र अमेरिकाबीच नयाँ स्वरुपको ब्यापार सम्झौतामा सहमति


वासिङटन (एजेन्सी)
अमेरिका र मेक्सिकोबीच २५ बर्ष पुरानो उत्तर अमेरिकी मुक्त ब्यापार सम्झौता ‘नाफ्टा‘लाई लिएर नयाँ सम्झौता गर्न दबाव बढेपछि दुई देशबीच आपसी सहमति बनेको छ ।

उक्त सम्झौताका प्रमुख आलोचक रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उक्त मुद्दामा ठुलो सफलता प्राप्त भएको बताए ।
यद्यपी अमेरिका र मेक्सिको सहमत भएको उक्त सम्झौताको नयाँ स्वरुपमा अहिलेसम्म क्यानाडाको धारणा प्रष्ट भएको छैन । क्यानाडा पनि उक्त सम्झौताको एक हिस्सा हो ।

नाफ्टा भन्दा बाहिर निस्कने धम्की दिएपछि राष्ट्रपति ट्रम्पले विगत एक बर्ष देखि नै उक्त मुद्दामा चर्चा गरिरहेका थिए । ट्रम्पले उक्त सम्झौतामा नयाँ ढंगले गर्नु पर्ने माग उठाएका थिए ।

तर यो सम्झौतामा नयाँ सहमति भएको समाचार बाहिर आएपछि अमेरिकी सेयर र मेक्सिकोको मुद्रा बलियो भएको थियो ।

ट्रम्पले नयाँ सम्झौताका विषयमा टेलिभिजन प्रसारित आफनो भाषणमा मेक्सिकोसँग जुन सर्तमा सहमति भएको हो त्यसपछिको यो सम्झौता अत्यन्त ठुलो भएको बताए । उनले नयाँ सम्झौता सबैका लागि पहिलाको भन्दा धेरै समान रुपमा हितकारी हुने बताए ।

यस मुद्दामा काम गरिरहेका वार्ताकार विगत एक बर्षदेखि नाफ्टा सन्धिलाई एक पटक पुन मस्यौदा तयार गरिरहेका थिए । तर विगत पाँच हप्तादेखि क्यानाडाले यस मुद्दामा भइरहेको चर्चामा भाग नै लिएको थिएन ।
ट्रम्पले यस मुद्दामा भने– हामी क्यानाडालाई पनि यसमा सहभागी गर्ने प्रयास गर्नेछौं वा क्यानाडासँग एक अलगै सहमति गर्नेछौं ।

ट्रम्पले क्यानाडा निर्यात हुने गाडीहरुमा थप शुल्क लगाउने चेतावनी पनि दिएका थिए । नाफ्टा नाममा अशुभ संकेत भएकोले आफु नाफ्टा नामबाटै मुक्ती चाहेको पनि ट्रम्पले बताए ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पको घोषणापछि अमेरिकी राष्टपति ट्रम्पसँग फोनवार्ता गरेका छन् ।
ट्रडोको कार्यालयले यस विषयमा बयान जारी गर्दै दुई नेताबीच अत्यन्तै रचनात्मक वार्ता भएको उल्लेख गरेको छ ।

ट्रडोले मेक्सिकोका मौजुदा राष्ट्रपति एनरिक पेना निएटेसँग आइतबार वार्ता गरेका थिए । उनीहरुबीच यस मुद्दामा तीनैवटा देशको सहभागिता हुने एउटै मोडमा पुग्नु पर्ने विषयमा चर्चा भएको थियो ।

मेक्सिकोले अमेरिकासँग यस मुद्दामा द्विपक्षिय सम्झौताका लागि पनि तयार रहेको जनाएको छ ।यस सम्झौतामा काम गरिरहेका वार्ताकार मेक्सिकोका नव निर्वाचित राष्ट्रपति एन्डे«ज म्यानुअल लोपेज ओब्राडोरले कार्यभार सम्हाल्नु अगाडी नै सम्झौतालाई अन्तिम रुप दिन चाहेका थिए ।
नवनिर्वाचित राष्टपति ओब्राडोर विद्यमान सरकार द्वारा मेक्सिकोको उर्जा क्षेत्र खुला गर्ने विरुद्धमा छन् ।