जलवीरेका पानीघट्ट संकटमा परे सँगै व्यवसायीहरु पनि चिन्तित

0
Shares

ज्ञानमणि नेपाल, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको मध्यभाग हुँदै बग्ने गरेको जलवीरे नदी किनारामा रहेका पानीघट्टहरु अहिले विस्थापनको क्रममा पुगेका छन् ।
कुनैबेला बगरैभरि घट्टै–घट्टहरु देखिने गरेको यहाँ आधुनिक मेशिनको वढ्दो प्रयोगले पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका हुन् । जलवीरे नदी किनारामा २० भन्दा वढि ठाउँमा रहेका घट्टहरु अहिले मुस्किलले ४ ठाउँमा मात्र छन् । जलवीरेका घट्टहरुको कुरा गर्दा स्थानिय बतासे गाउँकी ६० वर्षिय मैना माझि पुराना दिनहरु यसरी सम्झदै थिइन् । सोह्र वर्षको उमेर देखि जलवीरेमा घट्ट व्यवसाय संचालन गर्दै आएकी उनी नदी किनारामा घट्ट लोप भएकोमा ज्यादै चिन्तित छन् । नहुन् पनि किन..? नदीमा घट्ट चलाउनु, डुङ्गा खियाउनु, माछा मार्नु नदी आसपासका माझि तथा दनुवारहरुको पुख्र्यौली पेशा हो । उल्लेखित कुनै पनि पेशा अहिले उनीहरुका लागि सुरक्षित त भएनन् नै भावी पुस्ताका लागि पनि एकादेशका कथा जस्तो भएपछि उनी जस्ता सयौं व्यक्तिहरु यतिखेर चिन्तित् भएका हुन् । अहिले संचालनमा रहेका केहि घट्टहरुबाट वाषर््िाक एक लाख जती कमाई हुने मैनाको भनाई छ ।


व्यवसायीहरुले जोगाउन प्रयास गर्दा पनि त्यो सम्भव भएन । आधुनिक मेशिनहरुको वढ्दो लोकप्रियतासँगै उनीहरुका घट्टहरु बगे जलवीरे नदीको पानी जस्तै गरि । नदीमा ठाउँ–ठाउँमा पुल बनेपछि डुङ्गा व्यवसाय पनि लोप भयो । माछा त खोलामा पाइनै छोडिसक्यो । घट्ट बनाउन प्रयोगमा आउने ढुङ्गाहरु पनि नपाइने भएकाले पनि यो पेशाको अस्तित्व हराउन थालेको अर्की व्यवसायी काहिंली माझीको भनाई छ । पानीघट्टमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्थ्यो । र अहिले पनि गरिन्छ ।


पहिले–पहिले आधुनिक मेशिनहरुको प्रयोग थिएन । यीनै घट्टहरु प्रयोगमा आउँथें । करिव एक दशक अगाडि देखि गाउँहरुमा आधुनिक सुविधा सम्पन्न मेशिनहरु अत्याधिक मात्रामा प्रयोगमा आउन थालेपछि घट्टहरु लोप भएको जलवीरेका घट्ट व्यवसायी शंकर माझिको भनाई छ । पिसानीका लागि केहि समय वढी लागे पनि पानीबाट संचालन गरिने भएकाले पेट्रोलियम पद्धार्थको बचाउ गर्न र सहुलियतका लागि पनि पानीघट्ट भरपर्दो हुने भएपनि अहिले विस्थापित हुन थालेकोमा उनी पनि चिन्तित् देखिएका छन् । संरक्षण गर्न सके आफ्नो पेशाको जगेर्ना हुन सक्ने झिनो आशा बोकेका उनी आफूहरुका कुनै पनि व्यवसायहरुको अस्तित्व हराउन थालेको गुनासो गर्छन् ।

उनका अनुशार परम्परागत पेशाबाट जीविका चलाउन नसकिने भएपछि धेरैजसो युवाहरु अहिले वैकल्पिक पेशातिर लागेका छन् । आफ्नो कुनैपनि जमिन नभएकाहरु खेतीपाती र पुरानो व्यवसायको वास्ता नगरि विदेश लागेका छन् भने केहि रोजगारीका लागि राजधानी लगायतका शहरहरुमा पुगेका छन् । पुराना सबै खाले व्यवसायहरु विस्थापित हुने निश्चित भएपछि सिन्धुपाल्चोकका करिव १ हजार ५ सय भन्दा वढी माझि तथा दनुवारहरुको रोजगारी गुमेको स्थानियहरुको भनाई छ ।

जलविरेको जस्तै सिन्धु र काभ्रेको सिमाना नदी इन्द्रावतीमा पनि अहिले यस्ता पानी घट्ट प’रै विस्थापित भएका छन् । यहाँ त नदी किनारा भरि आधुनिक क्रसर मेशिनले नदीको सौन्दर्य नै विगारेका छन् । यसप्रति सम्बन्धित कसैले चासो राखेका छैनन भने व्यवसायीहरु प्नि वैकल्पिक पेशातिर ढल्किन थालेका छन् ।