अंशवण्डाको नाममा निर्वाध ‘प्लटिङ’

0
Shares

हेटौंडा ।
हेटौंडा उपमहानगरभित्र अंशवण्डाको नाममा जग्गा प्लटिङ गर्ने क्रम बढेको छ । जिल्ला मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अंशवण्डाको नाममा जग्गा प्लटिङ गर्ने क्रम बढेको हो ।
हेटौंडा–१३, ठूलोथलीमा जग्गा प्लटिङ गरेर बिक्री गर्न लागिएकोमा स्थानीयले विरोध गरेका छन् । हेटौंडा उपमहानगर कार्यपालिका बैठकले हेटौंडामा जग्गा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको छ । तर, त्यसलाई छल्दै दाजुभाइलाई अंश लगाउने नाममा ठूलोथलीमा फिल्डमा ससाना टुक्रामा जग्गा विभाजन गरी बिक्री गर्ने तयारी भएको स्थानीयले बताएका हुन् ।
जग्गा कारोबारी गिरोहका कारण विभिन्न बहानामा जग्गा प्लटिङ भइरहेकोले सचेत रहन मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ । खेतीयोग्य जमिन अनधिकृतरुपमा प्लटिङ भइरहेकाले यस्तो नगर्न उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको हो । अंशवण्डाको नाममा जग्गा प्लटिङ गरिएको र स्थलगतरुपमा बाटो देखाए पनि सडक सार्वजनिक नभएकाले त्यस्तो जग्गा खरिद नगर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।

अवैधरुपले जग्गा प्लटिङ भइरहेकाले रोक्न ठूलोथलीका वासिन्दा आइतबार उपमहानगरपालिकामा कार्यालय आएका थिए । अंशवण्डामा धेरै टुक्रा बनाएर पालैपालो बिक्री गर्न यो रणनीति लिइएको स्थानीयको दाबी छ ।
जग्गा ब्यवसायीहरु बढेको र मालपोत कार्यालयका कर्मचारी पनि मिलेकाले यस्तो काम नरोकिएको उनीहरुको गुनासो छ । अंशवण्डाका नाममा जग्गा प्लटिङ गरिए पनि पछि सडक सार्वजनिक नगरिने मेयर महतको भनाइ छ ।
नगरपालिकाले खेतीयोग्य जमिनको खण्डीकरण रोक्ने नीति बनाए पनि चोरबाटो प्रयोग गरेर जग्गाको खण्डीकरण हुँदै आएको छ । अनुमति लिएर वा नलिएर कुनै पनि तरिकाले कृषियोग्य जमिन खण्डीकरण गर्न नपाउने निर्णयविरुद्ध व्यवसायीले चोरबाटो प्रयोग गर्दै अंशवण्डाका नाममा प्लटिङ गरिरहेका छन् । मालपोत कार्यालयले वास्तविक अंशवण्डा हो÷होइन भनेर क्रसचेक गर्न चाहेको देखिँदैन । यो रोग मालपोत कार्यालयमा देखिएको छ ।

चोरबाटो प्रयोग गरेर अंशवण्डा हुन थालेको चाल पाए पनि मालपोत कार्यालयले कडाइ नगरेको स्थानीयको आरोप छ । पछिल्लो समय बनावटी समस्या बनाएर जग्गा प्लटिङ गर्ने उद्धेश्यले अंशवण्डा गर्न आउनेहरु बढे पनि त्यस्ता व्यक्तिको अंशवण्डा रोकिएको छैन ।
प्रदेश राजधानी तोकिएको हेटौंडामा जग्गाको माग बढेपछि व्यवसायीले चोरबाटो प्रयोग गरेर जग्गाको खण्डीकरण गरेका छन् । हाल प्रदेश राजधानी तोकिएको हेटौंडामा घरघडेरीको माग उच्च छ ।
कृषियोग्य जमिन खण्डीकरण रोक्ने प्रयास गरिए पनि जग्गा व्यवसायी कानुनी छिद्रमा टेकेर कारोबार गरिरहेको देखिन्छ । ‘महिना दिनअघि जग्गा किनेर अंशवण्डा गर्न आए त्यो स्वतः प्लटिङ हो भनेर बुझ्न कुनै समस्या हुँदैन,’ एक स्थानीयले भने–त्यस्ता केशहरुमा मालपोत कार्यालयले फाइल फिर्ता पठाउनुपर्छ । अंशवण्डा गर्न कुनै रोकतोक छैन । तर, यही छिद्रको प्रयोग गरेर कारोबारी प्लटिङमा सक्रिए भएका छन् । यो विकृति मौलाउन थाले पनि मालपोत कार्यालयले कडाइ गरेको छैन ।