जस्तोसुकै अबस्था र परिस्थितिमा पनि न्यायालयले न्याय गर्नुपर्छः मिश्र


न्यायपालिका संकटमा रहेकोले अति दलीयकरणबाट पार लगाउने जिम्मा प्रधान न्यायधिसको

पुष्कर बुढाथोकी, भक्तपुर ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले आफू रहेसम्म न्यायलयमा पुर्वाग्रह नराखी काम गर्ने बताउनुभएको छ ।उहाँले जस्तोसुकै अबस्थामा पनि न्यायालयले संबैधानिक व्यबस्था अनुसार नै काम गर्ने बताउँदै निष्पक्ष रुपमा काम गर्न नसके बरु छाडेर जाने दृढता ब्यक्त गर्नुभयो ।
नेपाल बार एशोसियशन भक्तपुर शाखाको आतिथ्यतामा आजबाट भक्तपुरमा सुरु भएको नेपाल बार एशोसियशनको ४५ औं कार्यकारिणी परिषद् बैठक एवम् बार्षिक साधारण सभामा बोल्दै उहाँले आकाशै खस्ने अबस्था आएपनि न्याय गर्नु पर्ने बताउनु भएको हो । उहाँले भन्नुभयोर्,न्यायलयमा काम गर्ने सबै एक भएर काम गर्न सके कसैले हल्लाउन सक्दैन ,स्वतन्त्र न्यायपालिका सबैका लागि आवश्यक छ यसलाई ब्यबहारमै सुनिश्चित गर्नुपर्छ ।’
उहाँले न्यायालयमा सबैले ईमान्दार भएर संविधान र कानूनी निष्ठा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो । नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आइसकेको अवस्थामा यसको संस्थागत संरक्षण गरि प्रभावकारी कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
कामु प्रधानन्यायाधिश मिश्रले नयाँ कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कार्यमा कानुन व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले जवाफदेही र उत्तरदायी रुपमा सक्रिय बन्न कानुन व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।अहिले न्याय क्षेत्रमा भ्रम सृजना गर्न खोजिएको बताउँदै कामु प्रधानन्यायाधिश मिश्रले संयमतापुर्वक काम गर्न नसके अप्रिय परिस्थिति सृजना हने उहाँको भनाई थियो ।
कार्यक्रममा पूर्वसभामूख सुवास नेम्वाङ्गले नयाँ कानुनी व्यवस्थालाई कानुन व्यवसायीले सुक्ष्म अध्ययन गरि त्यसको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्र्नुपर्ने औल्याउनुभयो । पूर्व सभामुख दमननाथ ढुंगानाले न्याय परिषद्को बिषयलाई संसदीय समितिमा ल्याउन नहुने टिप्पणी गर्नुभयो । ढुंगानाले अहिले देशले जीउँदो र सशक्त प्रधानन्यायधिसको खोजी गरिरहेको बताउँदै न्यायपालिका संकटमा रहेको उल्लेख गर्नुभयो ।न्यायपालिकामा संस्थागत सुधारको खाँचो रहेको उल्लेख गर्दै न्यायपालिकामा अति दलीयकरणका कारण अजंगको हाती छिरेको बताउनुभयो । त्यो हातीलाई धपाउने जिम्मा प्रधान न्यायधिसको भएको बताउँदै पूर्व सभामुख ढुंगानाले दलको सीमा नछुट्टिदा न्यायलयमा समेत संकट उत्पन्न भएकाले यसमा संस्थागत सुधारको खाँचो रहेकोमा जोड दिनुभयो ।संसदीय समितिले दल अनुकुल मान्छे खोजेको बताउँदै उहाँले संसदीय समितिलाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा न्यायपरिषद् सदस्य रामप्रसाद सिटौलाले संस्थालाई राम्रोसँग परिचालन गर्न ईन्जिन राम्रो चाहिने भए पनि अहिले न्यायलयको ईन्जिनमा बिचलन आएको बताउनुभयो ।बरिष्ठ अधिबत्ता कृष्णप्रसाद भण्डारीले न्यायलय र नेपाल बारमा दलाली र बिचौलियाको चलखेल भएको प्रति गुनासो गर्नुभयो ।कानुन आयोगका पुर्व अध्यक्ष बाबुराजा जोशीले संसदीय सर्बोच्चता कि न्यायिक सर्बोच्चता भन्ने बिवाद उत्पन्न भएको बताउँदै सरकारले न्यायलयको चीरहरण गर्न खोजेको उल्लेख गर्नुभयो ।न्यायपरिषदलाई पार्लियामेन्टभित्र ल्याउने दुस्प्रयास भैरहेको बताउँदै जोशीले यसतर्फ सबै कानुन ब्यबसायी सचेत बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महान्यायाधिवक्ता अग्नि खरेलले बारको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका सभापति नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले निष्पक्ष अदालतमाथि सरकारको छाँया पर्न लागेको भन्दै अदालतको सर्वोच्चतालाई कायम राख्न यसको छवि धमिल्याउन नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बिभिन्न वक्ताहरुले न्यायालय र सरकार बिचको दूरी बढ्दै गएको टिप्पणी गर्दै सरकारले न्यायालयमा हस्तक्षेप गर्ने र न्यायालयले सरकारलाई अटेर गर्ने प्रबृत्तिको थालनी हुन दिन नहुने बताएका थिए । शनिबारसम्म संचालन हुने कार्यक्रममा नेपाल बारका पुर्ब अध्यक्ष ,बर्तमान तथा पुर्ब पदाधिकारी ,सदस्य ,बरिष्ठ अधिबक्ता,कानुन ब्यबसायी परिषद्का पार्षद ,सबै बार ईकाईका अध्यक्ष ,केन्द्रीय कार्यकारिणी पार्षद,लगायतको सहभागिता रहेको छ ।