कञ्चनपुरमा फेरि तनाव, प्रहरीले गोली चलाउँदा एक बालकको मृत्यु


महेन्द्रनगर ।

कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट रहेका छन् ।

विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको निष्पक्ष अनुसन्धान नगरेको भन्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् । बिहीबार सरकारले जिल्लाका सिडिओ तथा एसपीलाई सरुवा गरी उच्चस्तरीय छानविन समिति गठन गरेपनि स्थानीयहरु सन्तुष्ट हुन सकेका छैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला समन्वय समिति अगाडी टायर बाल्दै नाराबाजी गरेपछि प्रहरीले गोली प्रहार गरेको हो ।

घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

यस्तै निर्मलाको हत्या प्रकरणको कुरालाई लिएर बैतडीमा पनि बिरोध प्रदर्शन गरेका छन् ।

मेलौली नगरपालिकाका महिलाहरुले दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै मेलौली बजारमा नारा जुलुस सहित प्रदर्शन गरेका हुन् । मेलौली मन्दिरदेखि शुरु भएको जुलुसमा महिलाहरुले बलात्कारी फासी दिनुपर्ने, महिलामाथि हुने हिंंसा अन्त्य हुनुपर्ने नारा लगाएका थिए । कञ्चनपुरमा भईरहेको आन्दोलनको समर्थन गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग सहित आफूहरुले विरोध प्रदर्शन गरेको महिला सञ्जालका अध्यक्ष रुबी नायकले बताईन् । महिलाहरुले हरेक क्षेत्रमा हिंसामा परेकाले उनीहरुमाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आफूहरुको माग रहेको उनले बताईन् ।

साउन १० गते बलत्कारपछी हत्या गरिएकी निर्मलाको हत्यारा भनि मानसिक सन्तुलन गुमाएका भिमदत्तनगरपालिका १९ का दिलिपसिह विष्टलाई भदौ ४ गते प्रहरीले सार्वजनिक गरेको थियो । वास्तविक हत्यारालाई लुकाउन खोजेर मानसिक सन्तुलन गुमाएका विष्टलाई प्रहरीले सार्वजनिक गरेको भन्दै स्थानिय बासिन्दाले भदौ ५ गतेदेखि कञ्चनपुरमा आन्दोलन गर्दै आएका छन् ।

आन्दोलन चर्किदै गएपछी बिहीवार मात्रै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालय तानेको थियो । यसका साथै सरकारले एक उच्चस्तरिय छानबिन टोली समेत कञ्चनपुर पठाएको थियो ।
आज पनि उग्र आन्दोलनलाई नियनत्रण गर्न चलाएको गोली लागेर कञ्चनपुरमा एक बाललको मृत्यु भएको छ ।

बैतडीमा भएकाे  विराेध प्रदर्शनका तस्वीरः