तेक्वान्दोमा नेपालको शून्य उपलब्धि



नेपाल समाचारपत्र, काठमाडौं
तेक्वान्दो नेपालको लागि कुनै नयाँ खेल होइन । मार्शल आर्टको एक इभेन्टमा पर्ने तेक्वान्दोमा नेपाली खेलाडीको मोह पनि बढेकै छ । तेक्वान्दोले नै नेपाललाई एसियाली खेलकुदमा सबैभन्दा बढी पदक पनि दिलाएको छ । नेपालले पदक जित्ने सो खेलमा इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद र अघिल्ला दुई गरी लगातार तीन एसियाली खेलकुदमा शून्य उपलब्धि भएको छ । तेक्वान्दोमा नेपालको नियन्त्रण कमजोर बन्दै गएको यी तीन एसियाली खेलकुदले प्रमाणित गर्दैछ ।

बिहीबार अन्तिम दिन नेपालको तर्फबाट दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा ज्ञानेन्द्र हमालले पहिलो चरण पार गरेर अर्को चरणमा पुगेका थिए । तर सो चरणमा भने बलिया प्रतिद्वन्द्वीको रुपमा मलेसियाका रोजाइमी रोजालीसँग प्रतिस्पर्धा भयो । रोजालीले ज्ञानेन्द्रलाई ३०–२ अंकको फराकिलो हार आत्मसात गर्न बाध्य तुल्याए । त्यस्तै महिला ४९ केजीमुनि नेपालकी अस्मिता खड्का पनि ठूलो अन्तरले पराजित भइन् । उनी इरानकी नाहिद कियानीचान्देहसँग ४३–४ अंकको ठूलो अन्तरले हारेकी थिइन् ।

नेपाली तेक्वान्दो खेलाडीलाई नेपालकै सबैभन्दा राम्रा र उत्कृष्ट गनिएका खेलाडी दीपक विष्ट र संगीना वैद्यले प्रशिक्षण दिएका हुन् । वैदेसिक प्रशिक्षण बावजुद नेपाली खेलाडीको प्रदर्शन इन्डोनेसियामा त्यति माथि उठ्न सकेन । आईतबार पहिलो दिन तेक्वान्दोमा कमल श्रेष्ठ, पार्वती गुरुङ दुबै जना पुम्से व्यक्तिगततर्फ ताइवानका खेलाडीहरुसँग पराजित भएका थिए ।

यस्तै पुरुष ५८ केजीमुनि सागर गुभाजु क्वार्टरफाइनलमा पुगेका थिए । तर उनी भियतनामको खेलाडीसँग २५–५ को ठूलो अन्तरले हार्न पुगे । ६३ केजीमुनि वीरबहादुर महरा अन्तिम १६ मा पुगेपनि काजाकिस्तानका खेलाडीले उनको यात्रा त्यहीसम्म मात्रै सीमित पारिदिए । महराले सो प्रतिस्पर्धा ३०–१९ अंकले गुमाएका थिए । यस्तै ८० केजीमा भुपेन श्रेष्ठ अफगानिस्तानका रमेस हुसानीसँग २७–७ ले पछारिएका थिए ।

यसैगरी अनोज पुजारीले ८० केजीमाथि पहिलो चरणमै काजाकिस्तानका खेलाडी जापारोभविरुद्ध खेल्नु प¥यो । उनले एक अंक पनि हासिल गर्न सकेनन् र २१–० को फराकिलो हार स्विकार गरेका थिए ।
महिला खेलाडीतर्फ ५३ केजीमुनि निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१०, संगीता बस्याल ६७ केजीमुनि फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले हारे । सबैभन्दा बढी निरासजनक प्रदर्शन गरिन् ओलम्पियन निशा रावलले । निशाले २०१४ मा ब्राजिलमा भएको ओलम्पिकमा राम्रो प्रदर्शन गरेकी थिइन् ।

तर चार वर्षपछि जकार्तामा पुग्दा उनको प्रदर्शनमा गिरावट आएको छ । उनी ६७ केजीमाथि प्रतिस्पर्धा गरेकी निशा चिनियाँ खेलाडी गाउ पानसँग २२–६ को ठूलो अन्तरले हारिन् ।

यस्तै ज्ञानी चुनाराले पनि नेपालको पदक जित्ने आस आसैमा सीमित पारिन् । उनले ५७ केजीमुनि प्रतिस्पर्धा गरिन् तर उनी क्वार्टरफाइनलमा नराम्रो सँग हार्न पुगिन् । फिलिपिन्सकी खेलाडी लोपेज पाउलिनले एक अंक पनि हासिल गर्न नदिई उनीमाथि २०–० को एकोहोरो जित निकालेकी थिइन् ।

तेक्वान्दोमा नेपालले १९८६, १९९८, २००२ र २००६ का एसियाली खेलकुदमा पदक हासिल गरेको थियो । नेपालले तेक्वान्दोमा १ रजत र १३ कांस्य पदक जितेको छ । रजत पदक जित्नेमा महिला खेलाडी सबिता राजभण्डारी छिन् । उनले १९९८ मा बैंककमा भएको १३औं एसियाली खेलकुदमा नेपालको लागि रजत पदक दिलाएकी थिइन् । एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो र अहिलेसम्म अन्तिम खेलाडीको रुपमा रहेकी छिन् । जबकी तेक्वान्दो क्वीन र हाल प्रशिक्षक संगीना वैद्यले समेत एसियाली खेलकुदमा पदक जित्न सकेकी थिएन । प्रशिक्षक भुमिकामा रहेका दीपक विष्ट भने २००२ र २००६ मा कांस्य पदक जितेर लगातार दुई एसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्