पहिरोपीडितलाई अक्वा बक्स

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले काभ्रेको मण्डल देउपुर नगरपालिका–१० छाप भन्ने स्थानमा पहिरोबाट बिस्थापित घर परिवारलाई अक्वा बक्स प्रदान गरेको छ ।

उक्त ठाउँमा भदौ ६ गते आयोजित एक कार्यक्रमवीच सो नगरपालिकाका मेयर टोकबहादुर वाइवा र सशस्त्र प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले पहिरोबाट विस्थापित १९ घरपरिवारलाई सो अक्वाबक्स हस्तान्तरण गर्नुभयो ।
अक्वाबक्समा खानाको सामग्री बाहेक घरमा प्रयोग हुने आधारभूत सामग्रीहरु रहेको छ । जसमा खाना पकाउने भाडा, पानी फिल्टर, त्रिपाल, डोरी, करौती, कपि, कलम, तौलिया, बच्चाको खेलौना लगायतका सामाग्रीहरु रहेका छन् ।

सो अक्वाबक्स सशस्त्र प्रहरी बल नेपाललाई रोटरी इन्टरनेशनल नेपालबाट प्राप्त भएको थियो । प्रति अक्वाबक्स करीब एक लाख रुपैयाँ बराबरको रहेको बताइएको छ । उक्त अक्वाबक्स बितरण कार्यक्रममा मेयर टोकबहादुर वाइवाले पीडित परिवारलाई नगरपालिकाले गर्ने सहयोगमा समेत कुनै कमि नहुने बताउनुभयो । उहाँले बिस्थापित परिवारलाई नगरपालिकाको तर्फबाट समेत सहयोग गरिने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले सशस्त्र प्रहरी बलले आगामी दिनहरुमा समेत विपत्तीबाट पीडितहरुका लागि सहयोगको कार्यक्रमहरुलाई निरन्तरता दिइने बताउनुभयो । संगठनले उद्धारकार्य तथा राहत वितरण कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको चर्चागर्दै सशस्त्र प्रहरी उपरीक्षक पाठकले विपत्ती पीडित नागरिकलाई उद्धार कार्यमा संगठनले उत्कृष्ट योगदान पु¥याईरहेको उल्लेख गर्नुभयो ।