चिरञ्जीवी मास्के, दोलखा
जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलिले एक थान चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित चितुवाको छाला बिक्रि वितरणको प्रयास भइरहेको भन्ने सुराकीको आधारमा दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ४ मैनापोखरीबाट छाला सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
विशेष सुराकीको आधारमा मैनापोखरी क्षेत्रमा पुगेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोलिले चितुवाको छाला बिक्रि वितरणको प्रयास गरिरहेको अवस्थामा दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ४ काब्रेका ३४ बर्षिय प्रदीप गजमेरलाई पक्राउ गरेको थियो । पक्राउ परेका गजमेरले उक्त छाला आफुलाई जिरी नगरपालिका वडा नम्बर ९ का बेदबहादुर सुनुवार र नारद सुनुवारले दिएको बताएपछि उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
जिरी नगरपालिका वडा नम्बर ९ मा रहेको मुसुने सुगुरे सामुदायीक बनको अध्यक्ष समेत रहेका नारद सुनुवारले ल्याएको उक्त छाला बेदबहादुर सुनुवार र प्रदीप गजमेरको सहयोगमा बिक्रि गर्न खोजिरहेको अवस्थामा प्रहरीले सदरमुकाम चरिकोट देखिनै निगरानिमा राखि मैनापोखरीमा ग्राहक खोजिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीको भनाई छ । चितुवाको छाला बिक्रि गर्न दिने मुख्य व्यक्तिको समेत खोजि भै रहेको र उनलाई पनि छिट्टै पक्राउ गरिने प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
पक्राउ गरिएको चितुवाको छाला पुच्छर सहित लम्बाई ५ फिट ९ इन्च र चौडाई २ फिट ६ इन्चको रहेको छ । आवश्यक अनुसन्धान पछि चितुवाको छाला र बिक्रि वितरणमा संलग्न आरोपितहरुलाई डिभिजन बन कार्यालय चरिकोटमा बुझाईने प्रहरी नायव उपरीक्षक पाठकको भनाइ छ ।
तस्विरः पक्राउ गरिएको चितुवाको छाला र पक्राउ बारे जानकारी दिदै प्रहरी नायव उपरीक्षक बासुदेव पाठक ।











प्रतिक्रिया