नयाँ मुलुकी ऐन लागूपछि श्रीमतीपीडित बढे, ६ दिनमै ५ मुद्दा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङ्गका गणेशा अर्यालले श्रीमतीको यातनाका कारण पिडीत भएको भन्दै अदालतमा सम्बन्ध बिच्छेद गरे ।
भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्न समेत नदिने गरेको र यातनाका कारण मानसिक सन्तुलन समेत गुमाउन परेको आरोप सहित सम्बन्ध बिच्छेदको मुद्दा लिएर अदालत पुगेका हुन । मानसिक अवस्था समेत बिग्रेपछि भारतीय सेनाको रोजगारी गुमेको र औषधी सेवन गर्नुपरेको प्रमाणसहित उनी अदालत पुगेका छन ।

अर्याल मात्रै होइन मोदी गाउँपालिका वडा ं ४ का लालबहादुर पुन पनि श्रीमतीले खान लाउन नदिएको भनेर अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराए । जीवनमा कमाएको सबै सम्पती श्रीमतीको नाममा भएको तर आफुँले खान लाउन नपाएर पिडीत बनेको भन्दै ‘श्रीमती पिडीत’ हरु अदालतमा सम्बन्ध बिच्छेद गर्न जाने क्रम पर्वत जिल्लामा ह्वात्तै बढेको छ ।

नयाँ मुलुकी ऐन लागु भएपछि सम्बन्ध बिच्छेद गर्न पुरुषहरुले पनि सोझै अदालत जान सक्ने सुबिधाको उपभोग गर्दै पर्वतमा भदौ ६ गते भित्र ५ जना पुरुषले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गरेका छन । पर्वत जिल्ला अदालतमा भदौ १ गते देखि ७ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा दुई वटा श्रीमतीका तर्फबाट छन भने ५ वटा श्रीमानका पक्षबाट भएको देखिन्छ । कुस्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीका मेखबहादुर कुवँर पनि तीन बर्ष देखि लगातार श्रीमती आफू भन्दा टाढा बसेको भन्दै सम्बन्ध बिच्छेदका लागि अदालत पुगेका छन । पोखरामा श्रीमती बस्दै आएको र आफुँ एक्लो भएको कारण देखाउँदै कुवँरले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेका छन ।

नयाँ मुलुकी ऐन लागु भएकै दिन भदौ १ गते नै पहिलो सम्बन्ध बिच्छेदको मुद्दा पुरुषले दर्ता गराएको बताउँछन अधिबक्ता भोलानाथ शर्मा । पहिले सम्बन्ध बिच्छेदका लागि पुरुषले अदालतमा सोझै मुद्दा दिन नपाउने तथा घुमाउरो र लामो प्रकृया अपनाउनु पर्ने अवस्था थियो । अहिले भने सम्बन्ध बिच्छेदको मुद्दा दिन सोझै अदालत जान सक्ने सुबिधा भएपछि बर्षौ देखि अदालत जान नसकेकाहरु अदालत पुग्न थालेको अधिबक्ता शर्मा बताउँछन ।

पर्वत जिल्ला अदालतका निमिक्त श्रेष्तेदार मातृका रिमाल भदौ महिना लागेपछि सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुषको संख्या बढी भएको बताउँछन । ‘अहिले मुद्दा दर्ता गराउनेमा पुरुष बढी छन’ उनले भने ‘पहिले महिलाले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न सहज भएकोले महिला बढी आउने गरेकोमा अहिले पुरुषलाई पनि सुबिधा भएकाले उनीहरुको संख्या बढेको हुनसक्छ’

सम्बन्ध बिच्छेदको मुद्दामा पुरुष र महिलाका बिचमा सम्बन्ध बिच्छेदका लागि सहमति भएमा एक महिनाभित्रमा मुद्दा किनारा लाग्छ भने पछिल्लो ऐनले सहमति कायम हुन नसक्दा १ बर्ष सम्म मुद्दा फैसला नहुने ब्यबस्था समेत गरेको छ ।