मेरुदण्ड पक्षघात समूहलाई आर्थिक सहयोग हस्तान्तरण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित मेरुदण्ड पक्षघात समूह नेपाललाई नेपाल पूर्व प्रहरी परिवार मञ्च बेलायतबाट प्राप्त २ लाख ५० हजार रुपियाँको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सोही समूहको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरियो ।

मेरुण्ड पक्षघात भएका विद्यार्थीहरुको स्वावलम्बन जीवन पद्घति, सिकाइ र आवास सञ्चालनको लागि प्राप्त उक्त आर्थिक सहयोग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल र सोही मञ्चका सल्लाहकार पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले संयुक्तरुपमा समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुको स्वावलम्बन जीवन पद्घति सिकाइ एवं आवास सञ्चालनलाई यस आर्थिक सहयोगले थप हौसला प्रदान गर्ने बताउँदै यस्ता सहयोग एवं अन्य सामाजिक गतिविधिमा सदैव क्रियाशील रहेको नेपाल पूर्व प्रहरी मञ्चका सम्पूर्ण सदस्यको योगदानको प्रशंसा गर्नुभयो ।

मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुको हित एवं उनीहरुको भविष्य उज्वल बनाउन आउँदा दिनमा नेपाल प्रहरी श्रीमती संघसँग नेपाल पूर्व प्रहरी परिवार मञ्चले समन्वय गर्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुले पनि आ(आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

उक्त अवसरमा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले वौद्धिक, शरीरिक र मेरुदण्ड पक्षघातबाट भएका अशक्त एवं बिरामीलाई नगरपालिकाको तर्फबाट समेत सहयोग हुँदै आएको बताउँदै सामुदायिक एवं सामाजिक गतिविधि तथा भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मेरुदण्ड पक्षघात समूह नेपालका उपाघ्यक्ष बाबुराम मिश्र, कोषाध्यक्ष गायत्री दाहाल, नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेत, गोकर्णेश्वर नगरपालिका(८ का वडा अध्यक्ष मनिज ढुङ्गाना, गोकर्णेश्वर नगरपालिका(४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ र मानवअधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।