पर्यटन प्रर्वद्धनमा अग्रसर दोगडाकेदार


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिकाले धार्मिक,पर्यटन तथा संस्कृति प्रर्वद्धनमा जोड दिएको छ । गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्बद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । गाउँपालिका भित्र रहेका गन्तव्य स्थानको पहिचान गरि पर्यटन भित्र्याउन सकिन्छ । गत बर्ष मात्रै १ करोड भन्दा बढी रकम धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण तथा संस्कृति पर्वद्धनका लागी छुट्याएका थियौं उनले भने“ बर्ष मात्रै २२ वटा बाटोहरु मर्मत(पिसिसि) गरेका छौं”
दोगडाकेदार गाउँपालिकामा रहेको मुख्य धार्मिक पर्यटकिय क्षेत्रहरु दोगडाधाम,भिटाकेदार, खोचलेक(गुफा)केदार, रौलाकेदार , देउलेक केदार लगायतका मन्दिरहरु मर्मत तथा बाटो निर्माणको काम गरिएको जनाएको छ । धर्म,संस्कृति संरक्षणका साथै धार्मिक पर्यटनमा सेवा पुग्ने छ । गाउँपालिकाभित्र रहेका हरेक वडाको प्रमुख मन्दिर जोड्ने बाटोहरु निर्माण गरेको छ । यसका साथै रौलाकेदारधाम जोड्ने सडक समेत निर्माण गरिएको छ । रौलाकेदार, देउलेककेदार देखि दोगडाधाम र सित्तडदेखि दोगडाधाम जोड्ने बाटोलाई यस बर्षको बजेटवाट पिसिसि गरिनुका साथै मन्दिर परिसर सुधारको योजना रहेको छ। गाउँकापालिकाको नामनै प्रमुख २ दोगडा र केदार देवताको नामवाट नामाकरण गरिएको र यस क्षेत्रमा रहेका देवीदेवताको बसोवास रहेको जनविश्वास अनुसार धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।
दोगडाकेदार गाउँपालिकाले धार्मिक तथा पर्यटकिय क्षेत्रको लागी थालेको काम निकै राम्रो रहेको दोगडाकेदारका स्थानिय पर्शुराम जोशीले बताए । बुवा बाजेदेखि चल्दै आएको धर्म संस्कृति पछिल्लो पुस्ताले बिर्सिदै गएकोले त्यसको प्रर्वद्धन गर्न गाउँपालिकाले जोड दिएको छ । दोगडाकेदारमा थुप्रै देवीदेवताको मन्दिर संरक्षणका लागी गाउँपालिकाले जोड दिईरहेको छ ।
महाकाली राजमार्गसंग जोडिएको गाउँपालिका भएकोले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने श्रीकोटका अनिलकुमार जोशीको भनाई रहेको छ। द्धन्दकालदेखि नै जीर्ण रहेका मठमन्दिरका संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्यटक भित्र्याउनको लागी प्रदेश सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनले बताए ।
बैतडीकै पहिलो होमस्टे दोगडाकेदारमा
प्रदेश ७ (सुदूरपश्चिम) को स्थानिय कला,भाषा,संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे(घरबास) गतबर्षदेखि नै दोगडाकेदारमा सञ्चालनमा आएको छ ।
दोगडाकेदार गाउँपालिका ६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानिय कला,संस्कृति , पुरानो रितीरिवाज, भेषभुषा , रहनसहन र यहाँको स्थानिय खानाका परिकारहरु रहेका होमस्टे सञ्चालक शुशिला मडैले जानकारी दिए ।
शुशिला होमस्टे नाम दिएर सञ्चालनमा रहेको उक्त होमस्टेमा डोटेली कला संस्कृतिहरु सगुन, फाग, छलिया नृत्यका साथै सुदूरपश्चिमको मुख्य खेल डेउडा आकर्षणहरु रहेका छन् । उहाँको स्थानिय पोसाक घाक्रा, चोली, आङणोका साथै स्थानिय खानाका परिकारहरु माणा,कोदोको रोटी, मकैको रोटी, डुब्का, बटुक लगायतको परिकारहरु रहेका होमस्टे सञ्चालक मडैले जानकारी दिए। उनले भने“यहाँ रहेका मठमन्दिर,कोटहरुको अवलोकन गर्न सकिन्छ ”
जिल्ला लघुउद्यमी समूह संघ बैतडी , दोगडाकेदार गाउँपालिका र अन्य केही संघसंस्थाको सहयोगमा शुशिलाले उक्त होमस्टे सञ्चालनमा रहेको छ ।
दोगडाकेदार गाउँपालिका ६ सित्तडमा रहेको होमस्टेवाट बैतडीको दोगडा धाम, चमेलिया नदी लगायत दार्चुलाको अपि हिमाल, राष्ट्रकै सातौ धाम मालिकार्जुन,बझाङको सैपाल हिमालको समेत दृश्याअवलोकन गर्न सकिन्छ ।
पर्यटन विकासका साथसाथै जिल्लाको पहिचान झल्काउने बैतडी जिल्लामै पहिलोपटक सञ्चालनमा आएकोले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सजिलो हुने जिल्ला लघुउद्यमी समूह संघ बैतडीका अध्यक्ष ईन्द्रदेव शरण भट्टको भनाई रहेको छ ।
हाम्रो परम्परा शैली तथा स्थानिय परिकारको संरक्षणमा लागी जिल्लामै पहिले होमस्टे दोगडाकेदार गाउँपालिकामा सञ्चालनमा रहेको अगामी दिनहरुमा एउटा मात्रै घरमा रहेको उक्त होमस्टेलाई अब पुरै गाउँमा नै होमस्टे सञ्चालनमा ल्याउनुपर्ने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।