नेपाली फुटबल लगातार हार्दैछ


फिरोज राजोपाध्याय, काठमाडौं
१८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष फुटबलतर्फ तेस्रो हारसँगै नेपालको चुनौती समाप्त भएको छ । आईतबार भएको समूह डी को अन्तिम खेलमा नेपाल आफ्नो चिरप्रतिद्वन्द्वी टोली पाकिस्तानसँग पराजित भएको हो ।

नेपालको यु २३ राष्ट्रिय फुटबल टोली यसअघि जापानसँग १–० ले र भियतनामसँग २–० ले पराजित भएको थियो । यो भन्दा अगाडि पनि नेपाली टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल हारेको थियो ।

त्यसो त जाकार्ताको प्याट्रिओट चन्द्रगाभा रंगशालामा नेपालले सानदार शुरुवात गरेको थियो । खेलको १२औं मिनेटमा युनुस सहबाजको आत्मघाती गोलमा नेपालले अग्रता लिएको थियो । यो नेपाली फुटबलको एसियाडको इतिहासमा विपक्षीमाथि गरिएको दोस्रो गोल थियो । नेपालले १९८२ एसियाडपछि फुटबलमा गोल गर्न सकेको हो ।

नेपालका लागि सन् १९८२ मा नयाँ दिल्लीमा सम्पन्न एसियाडमा वाइबी घलेले गोल गरेका थिए । नेपालले यसै एसियाडदेखि १९९८ एसियाडसम्म फुटबलतर्फ लगातार सहभागिता जनाएको थियो । चार एसियाडमा ५२ गोल बेहोरेपछि नेपालले २०१४ एसियाडमा फेरि फुटबलमा भाग लिएको थियो । ३६ वर्ष एसियाडको लामो यात्रामा नेपाली फुटबलले १८ खेल खेल्दा कूल ७० गोल आत्मसात गरेको छ भने मात्र २ गोल विपक्षीको जालीमा चुमाएको छ ।

दुई खेल हारे पनि समूहमै ७ गोल बेहोरेर कमजोर मानिएको पाकिस्तानमाथि ठूलो जित निकाल्न सकेमा नेपालको लागि अर्को चरण पुग्ने झिनो आस थियो ।

बढी गोलअन्तरले जितेमा उत्कृष्ट तेस्रो टोलीको रुपमा नेपालको समूह चरण पार हुने मौका बराबर थियो । तर कमजोर टोली भनिएको पाकिस्तानले नै नेपाललाई २–१ गोलअन्तरले हराइदियो । पाकिस्तानको यो नेपालमाथि समग्रमा पाँचौ जित थियो । यद्दपि नेपालले पनि पाँच खेलमै पाकिस्तानलाई हराएको छ । समग्रमा १५ खेलमा आमना सामना भएको नेपाल र पाकिस्तानले ५ खेल बराबरी खेलेका छन् ।

अर्को तिर पाकिस्तान करिब तीन वर्षसम्म कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । २०१५ मा केही कारणले पाकिस्तान फुटबल महासंघलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरिएको थियो । त्यस्तै फिफा वरियतामा पाकिस्तान नेपाल (१६१औं स्थान) भन्दा ४० स्थान तल छ । यसको बावजुद नेपालको फुटबल कति धरासयी भइसकेको छ भन्ने सत्यलाई पाकिस्तानले हिजो छर्लङ पारिदिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संरचना पनि परिवर्तन भइसकेको छ । अध्यक्षमा कर्मा छिरिङ शेर्पाको आगमनले लिग पनि संचालन हुने अवस्था छ । अध्यक्ष शेर्पाले एसियाडमा जितेमा डलर प्रोत्साहन स्वरुप दिने घोषणा गरे पनि नेपाली खेलाडीले एसियाडका खेलमा देखाएको प्रदर्शनले जित्ने क्षमता नभएको प्रस्ट पारेको छ ।

यस विषयमा थ्रीस्टारका प्रशिक्षक तथा पूर्व राष्ट्रिय प्रशिक्षक मेघराज केसीले खेलाडी छनोटमै गम्भीर हुनुपर्ने नेपाल समाचारपत्रलाई बताउनुभयो । केसीले बताउनुभयो—पहिलो त दुई वर्ष अगाडि राम्रो खेल्यो भन्दैमा अहिले पनि राम्रै हुन्छ भन्ने छैन । मुख्यतया यो टोलीले थाइल्यान्डमा अभ्यास खेलमा हारेर जित्ने सक्ने क्षमता नभएको पहिले नै आभास दिइसकेको थियो । चलेको नामका खेलाडीलाई छनोट गर्नु नै गल्ती हो । एक वर्षमा मोफसलमा भएका प्रतियोगितामा राम्रा खेलेका खेलाडीलाई छनोट गर्न तम्सनु पर्छ ।

वहाँले थप्नुभयो—अर्को कुरा कुन प्रतियोगितामा सहभागि हुने र त्यसमा के लक्ष्य राख्ने हो त्यो पनि गरेको हुँदैन । बस भाग लिनु पर्छ, टिम तयार ग¥यो । एक दुई वटा अभ्यास खेल खेल्यो अनि सीधै प्रतियोगितामा सहभागि भयो । यसरी कसरी राम्रो नतिजा निस्कन्छ र? यसको लागि तयारीमा गम्भीरता लिनु पर्छ ।

यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले पनि पाकिस्तानसँग हारेकोमा नेपाली फुटबलमा नराम्रो छाप परेको नेपाल समाचारसँगको कुराकानीमा बताउनुभयो । गुरुङले बताउनुभयो—पाकिस्तान करिब ३ वर्षपछि मैदानमा उत्रेको हो । पाकिस्तानका युवा खेलाडीले नेपाली युवा खेलाडीलाई पराजित ग¥यो । यसले नेपाली फुटबलमा नराम्रो छाप बसेको छ । यसले गर्दा आगामी साफ च्याम्पियनसिपमा पनि नेपाललाई कठिन हुनेछ ।

गुरुङले बताउनुभयो—नेपालमा फुटबल नै राम्ररी संचालन भइरहेको छैन । लिग भइरहेको छैन । मोफसलमा भएका खेलहरुबाट खेलाडीको क्षमता विकास हुन सक्दैन । यसले गर्दा नेपाली राष्ट्रिय टोलीका खेलाडीमा पनि धेरै असर परेको छ । जापानसँग राम्रै खेलेको हेर्ने हो भने नेपालले भियतनाम र पाकिस्तानलाई हराएर इतिहास रच्ने संभावना देखिएको थियो । तर यसो भएन ।

एसियाडमा नेपाल
एसियाड खेल जित हार गोल गरेको गोल बेहोरेको
भारत (१९८२) ३ ० ३ १ ९
द. कोरिया (१९८६) ४ ० ४ ० १७
जापान (१९९४) ३ ० ३ ० २०
थाइल्यान्ड (१९९८) २ ० २ ० ६
द कोरिया (२०१४) ३ ० ३ ० १३
इन्डोनेसिया (२०१८) ३ ० ३ १ ५