पक्की पुल नहुँदा भारतीय पर्यटक भित्रिएनन्ः अध्यक्ष चन्द


विनोद सिंह विष्ट, बैतडी ।
भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडी सहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । उनले भने“सीमा क्षेत्रका धेरै पर्यटकहरु बैतडी आउन चाहे पनि सीमा क्षेत्रमा पक्की पुल नहुँदा उनीहरुलाई भित्र्याउन सकिएको छैन्”
झुलाघाट भारतसँग सीमा जोडिएको नाम चलेको पुरानो नाका हो । प्रदेश सातका पहाडी जिल्लाबाट भारत जानेहरुको प्रमुख नाकाको रुपमा समेत चिनिने गरिएको छ । झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको स्थानिय कैलास जोशीको भनाई रहेको छ । ‘भारतसँग सीमा जोडिएको झुलाघाटमा पक्की पुल निर्माणका लागि देशका सबै सरकारले आश्वासन मात्र दिए । तर, काम कसैले गरेनन् । देशमा समृद्धि ल्याउन मुखले भनेर मात्रै हुँदैन । त्यसका लागि काम गर्नु पनि आवश्यक छ ।’ ‘झुलाघाटमा पक्की पुल बनाउने भनेर सबैजसो प्रधानमन्त्रीले भनिसकेका छन् ।
झुलाघाटमा पक्की पुल बनाउने बिषयमा अहिले सम्मका सरकारहरुले आश्वासन दिएको भएपनि पूरा भने कसैले गर्न सकेका छैनन् । झुलाघाटमा करीब डेढसय बर्ष अघि इष्ट इण्डिया कम्पनीलेनिर्माण गरेको झोलुंगे पुलबाट आवतजावत भईरहेको छ । उक्त पुल जीर्ण अवस्थामा रहेको छ । भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको भएपनि छ पक्की पुल नभएकै कारण हामीले करोडौंको व्यापार घाटा व्यहोरिरहेका यहाँका व्यवशायीहरुको भनाई रहेको छ ।
झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, मह लगायतका वस्तुहरु निर्यात गर्न कठीनाई भएको लघु उद्यमी समूह संघ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । उनले भने“ झुलाघाटमा पक्की पुल नभएका कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको छ ”
यो पुल निर्माण भएपछि नेपालसँग मित्रता अझ प्रगाढ हुन्छ भारतीय सञ्चारकर्मी राजेश पञ्गरीयाको भनाई रहेको छ । यो झोलुंगे पुल मात्र नभई दुई देशको सम्बन्ध जोड्ने पुल भएका हो उनले भने“ पक्की पुल त टाढाको विषय भयो पुल जीर्णोद्धारका विषयमा समेत चासो दिइएको छैन ”
झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको हो । झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्वे मात्रै हुने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् । सर्वेअनुसार भारत जोड्ने पुलको लम्बाई ९० मिटर छ । ०५६ सालमा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि साढे ६ करोड लागत लाग्ने अनुमान गरिएको थियो ।
पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारतीय सहर जाने गर्छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहँुदा बिरामीलाई उपचारका लागी बोकेर लैजानुपर्ने बाध्यता रहेको छ ।
पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नबन्दा झुलाघाट पक्की पुल निर्माणको बिषय पनि अन्योलमा परेको बैतडी प्रदेश“ख” का सांसद लिलाधर भट्टले बताए । झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ उनले भने“पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछी झुलाघाटमा पुल बन्न असम्भव छ ”
पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठुला संरचना निर्माण नगरिने बताईएको छ ।