हेटौंडा,(नेस) ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले परम्परागत बजेट बनाउने तरिकालाई तोडेर नयाँ मोडलबाट बजेट बनाएमात्र गरेका काम देखिने बताउनुभएको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा राष्ट्रियस्तरका योजना र प्रदेशस्तरका योजना अबका दिनमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा आयोजित छलफलमा उहाँले परम्परागत बजेट छर्ने तरिका तोडेरमात्र काम गरिने बताउनुभयो ।
अब केन्द्र, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने बेला आएको बताउँदै उहाँले भन्नुभयो–अहिले पनि प्रेसरका भरमा बजेट छुट्याउने कामहरु भइरहेका छन् । अब सिष्टम परिवर्तन गरेरमात्र काम सकिने बताउँदै उहाँले भन्नुभयो–कर्मचारीको मानसिकतामा परिवर्तन आएको छैन । कर्मचारी आफ्ना भाग खोसिन्छ कि भनेर लागेका छन् । उनीहरु हालको सिष्टमलाई परिवर्तन गर्न चाहँदैनन् । तर, हामी जसरी पनि सिष्टम बदलेर काम गर्नुपर्छ भनेर लागेका छौं ।
अब तीन तहको सरकारले समन्वय गरेर आफ्ना राम्रा काम गर्ने बेला आएको उहाँले बताउनुभयो । हालको जनशक्ति र रकमले राम्रा काम गर्न सकिने उहाँको भनाइ छ । प्रदेश सरकारले बजेटलाई आवश्यक्ता र प्राथमिकताका आधारमा छुट्याएर काम गरेको उहाँको दाबी छ ।
प्रदेश सभामुख सानुकुमार श्रेष्ठले संघीय सरकार र प्रदेश सरकारले गाउँपालिका र नगरपालिकाले जसरी काम गर्ने गरी बजेट छुट्याएको बताउनुभयो । अब एक वर्षमा गरिने काम र पाँच वर्षमा गरिने काम छुट्याएर काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–अब एकीकृत बस्ती निर्माण गरेमात्र विकास गर्न सकिन्छ । एउटा सानो गाउँमा र बस्ती नभएको स्थानमा पानी, बत्ती पु¥याएर साध्य नलाग्ने भएकाले सबै सुविधा एकै स्थानमा दिने गरी काम गरिनुपर्छ ।
प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले अब ससाना योजनामा पैसा छरेर भन्दा पनि ठूला योजनाका निम्ति काम गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. पुष्प कँडेलले प्रदेशबाट आएका सुझावका आधारमा काम गर्न तयार रहेको बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले प्रोजेक्ट बैंक बनाएर काम गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश पसभामुख राधिका तामाङ, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, उद्योग, वातावरण, पर्यटन तथा बनमन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचिव आनन्दराम ढुंगाना, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फँुयाल, विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।











प्रतिक्रिया