प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालयहरु

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
शैक्षिक गुणस्तरमा सुधार ल्याउनको लागी बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ ।

गाउँपालिकाले पालिकाभित्रका सम्पुर्ण माध्यमिक विद्यालयहरुमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था ,वाई फाई फ्रि तथा ईन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्र रहेका १० वटै माध्यमिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गरिन लागिएको अध्यक्ष चक्र कार्कीले बताए ।

हालसम्म सनातन धर्म मावि श्रीकोट,भुमिराज मावि चडेपानी,न्वाली मावि दोली,श्रीकेदार मावि पिपलकोट गरी ४ वटा विद्यालयमा ई हाजिरी र ईन्टरनेट जडान कार्य सम्पन्न भएको हो ।
अन्य ६ विद्यालयहरुमा पनि ई हाजिरी र ईन्टरनेट जडानको कार्यलाई निरन्तरता दिईने भएको छ ।

बाँकी रहेको विद्यालयहरुमा विद्युत लगायतको समस्या भएको जडान गर्न नसकिएको अध्यक्ष कार्कीले बताए । गाउँपालिकाले गतबर्ष नै गाउँपालिकाभित्र रहेका सम्पुर्ण माध्यमिक विद्यालयहरुमा ईन्टरनेट र ई हाजिरी जडान गर्ने कार्यक्रम रहेको थियो ।

ई हाजिरी र ईन्टरनेट जडान गर्न विद्यालयहरुलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म रकम विनियोजन गरेको दोगडाकेदार गाउँपालिकाको कार्यालयले जनाएको छ ।
विद्यालयहरुमा ई हाजिरी जडानले शिक्षकको नियमितता बढेको ,ईन्टरनेट र प्रोजेक्टर जडान गरेपछी विद्यार्थीहरुलाई पठनपाठन गर्न सजिलो भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेब नाथले जानकारी दिए ।

ईन्टरनेट जडानले एसईई लगायतका परिक्षाफल हेर्न सजिलो भएको छ उनले भने“ प्रोजेक्टरको माध्यमवाट पढाई गर्दा पठनपाठनमा सुधार हुदै गएको छ”