नेपाल समाचारपत्र, काठमाडौं
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा काठमाडौं आउने राष्ट्र प्रमुख र सरकार प्रमुखको ‘रिट्रिट भिजिट’ गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टमा हुने भएको छ ।
सम्मेलनको दोस्रो दिन आगामी भदौ १५ गते बिहानको ‘रिट्रिट’ नेपालले सो रिसोर्टमा दिने तयारी बढाएको छ । सदस्य राष्ट्र प्रमुख र सरकार प्रमुखले आगामी १५ गतेको ब्रेकफास्ट, चिया र कफीसहित गल्फको मज्जा गोकर्णमा लिनेछन् । ‘मौसमका कारणले पाहुनालाई टाढा लाने सम्भावना नभएकाले नजिकको गन्तव्य खोज्दै छौ, सम्भवत रिट्रिट गोकर्णमै हुन्छ’ –परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने ।
१८औं सार्क सम्मेलन ताका नेपालले विशिष्ट पाहुनालाई धुलिखेलमा रिट्रिट दिएको थियो । रिट्रिट जमघटमा विशिष्ट अतिथिले समूहमा र छुट्टाछुट्टै ‘साइडलाइन’ वार्ता गर्ने वातावरण बन्ने गर्छ । विमस्टेको चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ ।
सम्मेलनका सबै बैठक र अन्य जमघट काठमाडौं सोल्टी होटलमा गर्ने तयारी अघि बढाइएको छ भने सम्मेलन शुभारम्भ हुनु अघिको रात्रिभोज ‘गाला डिनर’ भने बौद्धस्थित हायात होटलमा गर्ने गृहकार्य भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।











प्रतिक्रिया