गोकुल घोरसाइने, बारा
मधेसवादी दल र स्थानीयको विरोधका बाबजुद बाराको सिमरामा मालपोत र नापीको सेवा कार्यालय स्थापना भएको छ । कडा सुरक्षा प्रवन्धबीच जिल्ला सदरमुकाम कलैयाबाट मंगलबार राति ९ बजे मालपोत र नापी कार्यालयको कागजात सिमरा ल्याइएपछि सेवा कार्यालयमा बुधबार बिहान धार्मिक विधि अनुसार पुजापाठ गरिएको छ । पुजामा कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
जिल्लाको उत्तरी भेगका बासिन्दाको सेवा सुविधालाई ध्यानमा राखेर अघिल्लो सरकारको निर्णय अनुसार सिमरामा मालपोत र नापी कार्यालय संचालन गर्ने निर्णय गरेपछि कलैया उपमहानगरपालिका लगायत दक्षिणी भेगमा असन्तुष्टि बढेको थियो । मालपोत तथा नापी कार्यालयको श्रेस्ता आइपुगेपछि अब सिमरा उपमहानगरपालिका लगायत निजगढ नगरपालिका र परवानीपुर गाउँपालिका नागरिकले सिमराबाटै मालपोत र नापी कार्यालयको सेवा पाउने भएका छन् ।
०७१ असोज ३० मा तत्कालीन सरकारले सिमरा र जिल्लाको सिम्रौनगढमा सेवा केन्द्र खोल्ने निर्णय गरेको थियो । तर मधेसवादी दलको अगुवाईमा कलैयामा हिंसात्मक आन्दोलन शुरु भएपछि सुशील कोइराला नेतृत्वको सरकारले ५ सेवा विस्तार निर्णय स्थगित गरेको थियो । अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्ने भन्दै पछिल्लो पटक सरकारले गत जेठ २१ गते सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेपछि पनि मधेसवादी दलका कार्यकर्ताहरुले निर्णय फिर्ता गराउन काठमाडौंसम्म डेलिगेसन गएका थिए । जिल्ला समन्वय समिति बाराले पनि सिमरामा सेवा विस्तार गर्न उपयुक्त नहुने भन्दै विरोध जनाउदै आएको थियो ।
‘धेरै अवरोध र अडचन खडा गरियो, जितपुरसिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेलले भने, तर जनताको पक्षमा भएको निर्णय कार्यान्वयन भएर छोड्यो ।’ मेयर पौडेल अघिल्लो सरकारले अडान लिन नसकेकाले पनि समयमा नै सेवा विस्तार हुन नसकेको पनि बताए । उनले मालपोत र नापी कार्यालय स्थापनाले यस क्षेत्रका जनतालाई राहत मिलेको बताउँदै निर्णय कार्यान्वयन गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन । कलैयामा भएको विरोधका कारण तत्कालिन सरकारले निर्णय स्थगित गरेपछि सेवा माग गर्दै सिमराका स्थानीयले पनि एक सातासम्म आन्दोलन गरेका थिए ।
यसैबीच मालपोत र नापी कार्यालयको कागजपत्र बोकेर सिमरा सेवा कार्यालयको प्रमुखका रुपमा आएका राजराजेश्वर त्रिवेदी (मालपोत) क्रान्ति गुप्ता (नापी) सहित प्रहरी टोलीलाई स्थानीयले फूलमालाले स्वागत गरेका छन । जितपुरसिमरा वडा नम्बर ३ बजनीस्थित कार्यालयमा कागजपत्र बोकेर कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको स्वागत गर्न मध्यरातमा पनि स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।











प्रतिक्रिया