नेपाल समाचारपत्र, रसुवा
चिलिमे त्रिशुली प्रशारण लाइनको २३ प्रतिशत काम सम्पन्न भएको छ । रसुवामा निर्माण भएको जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि चिलिमे त्रिशुली प्रशारण लाइन निर्माण गरिएको हो ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेत निर्माण हुन लागेको चिलिमे हबको निर्माणस्थलमा कटिङ र फिलिङको काम भइरहेको छ । जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनाको विद्युत उत्पादन हुने समय नजिकिँदै जाँदा नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइन निर्माणमा तिब्रता दिएको छ । आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्रि बी हबसम्म प्रशारण लाइन निर्माण हुने छ । प्रशारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए ।
गोल्जुङदेखि मैलुङसम्म २२० केभि डबल सर्किट र मैलुङदेखि त्रिशुली थ्रिबिको हबसम्म ‘फोर सर्किट’ प्रशारण लाइन निर्माण हुने छ । प्रशारण लाइन निर्माणका लागि चेक सर्भे, माटो परिक्षण लगायतको कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । प्रशारण लाइन निर्माणका लागि चिनियाँ ठेकेदार पिङ्गाओ ग्रुप लिमिटेड र परमर्शदाताको रुपमा पावर ग्रिड इन्डियाले काम गरिरहेका छन् । प्रशारण लाइनको टावर र सवस्टेशनको विभिन्न उपकरणको डिजाइनको कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।
गोल्जुङदेखि थ्रिबी हबसम्म ८९ वटा टावर रहने बताइएको छ । ‘सुरुमा ९८ वटा टावर राख्ने गरी कार्यअघि बढाइएको थियो, उनले भने, पछि अनावश्यक ठाउँमा नराख्ने भएको हो ।’ चेक सर्वेपश्चात अनावश्यक ठाउँको टावर हटाइएको छ । प्रशारण लाइन २०१९ जुनसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाई, वैदेशिक सहायता पर्खनुपर्ने लगायतका कारण प्रशारण लाइन निर्माणमा केही ढिलाई हुन पुगेको हो । प्रसारण लाइन र सबस्टेसनमा निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण लगानी छ ।
यसैबिच रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुुवागढी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । सोमबार राति आएको बाढीले कफर ड्याममा पूर्ण क्षति गरेपछि आयोजनाको काम प्रभावित बनेको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा अविरल वर्षापछि लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि आयोजनाको संरचनामा क्षति पुगेको हो । बाढीले आयोजनाको कफर ड्याममा पूर्ण क्षति पु¥याएको छ भने संरचना र उपकरण ढुवाएको छ ।











प्रतिक्रिया