कुस्माबजारको फोहोर ब्यबस्थापनमा नयाँ तरिका, डम्पिङ्ग साइड नचाहिने


दुर्गाप्रसाद शर्मा, पर्वत ।
कुस्मा नगरपालिका भित्रको फोहोर ब्यबस्थापन भदौ देखि नयाँ ढंगले हुने भएको छ ।
कुस्मा बजारको फोहोरलाई डम्पिङ्ग साइड नचाहिने गरि फोहोर ब्यबस्थापन गर्न कुस्मा नगरपालिका र सामुदायिक स्रोत तथा वातावरणीय बिकास केन्द्र(सेक्रेड नेपाल) बिचसम्झौता भएको हो । कुस्माको फोहोर ब्यबस्थापन गर्नका लागि सिक्रेड संग पाँच बर्षलाई जिम्मा दिइएको छ ।
कुस्मा बजारको फोहोर अहिले सम्म जंगल र नदी किनारमा फाल्ने अवस्था रहेको थियो भने कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर संकलन हुँदै आएको थियो । भदौ पछि भने घरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने ब्यबस्था गर्न लागिएको छ । घरघरमै छुट्टाछुट्टै संकलन गरिएको कुहिने र नकुहिने फोहोर ब्यबस्थापन गर्न लागिएको सिक्रेड नेपालका कार्यक्रम संयोजक टिकाराम भुसालले बताए । ‘अब कुहिने फोहोर र नकुहिने फोहोर छुट्टाएर मात्रै संकलन गरिन्छ’ उनले भने ‘ अब फोहोर पनि अलग अलग मात्रै उठाउँछौ, सबै मिसाएर फोहार नउठाउने निती रहन्छ’
घरघरबाट उठाएर ल्याएको फोहोर मध्ये कुहिनेबाट कम्पोष्ट मल उत्पादन गरिन्छ । यसरी उत्पादित मल फोहोर उत्पादक निशुल्क मल दिने योजना रहेको कार्यक्रम संयोजक भुसालले जानकारी दिए । यस्तो मल घरमै खान तरकारी उत्पादन गर्ने करेसाबारी र गमलमा प्रयोग गर्ने फोहोर उत्पादक उपभोक्तालाई निशुल्क दिने ब्यबस्था गरिने भएको छ । संकलित नकुहिने फोहोरलाई बर्गिकरण गरिन्छ । बिक्री हुने फोहोर बिक्री गर्ने र कतै बिक्री नुहने फोहोरलाई खाल्टो खनेर गाड्ने र बायुमण्डल प्रदुषण नहुने गरि जलाएर नष्ट गरिन्छ ।
संकलित कुहिने र नकुहिने फोहोर ब्यबस्थापन गर्न कुस्मा नगरपालिका– ११ सिल्मीमा सात रोपनी जग्गा भाडामा लिएको छ । यसरी फोहोर ब्यबस्थापन गर्दा जल, जमिन, जंगल र बायुमण्डल प्रदुषण नहुने गरि ब्यबस्थापन गरिने भुसालले बताए । फोहोर संकलनका लागि नगरपालिकाले संकलनको काम नगरपालिकाले गर्ने , सेवा शुल्क नगरपालिकाले लिने, नगरपालिकाले सबैले संग सेवा शुल्क समेत नगरपालिकाले उठाउने सम्झौता भएको छ । छिमेकी बालिङ्गमा यो प्रबिधीबाट चार बर्ष देखि फोहोर ब्यबस्थापन गरिरहेको छ । सफल पनि देखिएको छ । पाँच बर्ष काम गर्दा खर्च गर्ने भन्दा बढी पैसा बचाउने भुसालको लक्ष्य छ ।
सफा कुस्माका लागि सामुहिक अभियानले बिगत १५ बर्ष देखि फोहोर संकलनको काम गरिरहेको छ । २०६० असोज देखि संकलनको काम गरेको अभियानले गत बर्ष नै ब्यबस्थापन गर्न नसकेर नगरपालिकालाई जिम्मा लगाउने निर्णय समेत गरेको थियो । अहिले तत्काल कुस्माका वडा नं ४,५,६,७,८ र ९ सम्मको फोहोर संकलन गरिने र बिस्तारै सबै वडामा कुहिने फोहोर वडा वडाबाट पनि संकलन गर्ने लक्ष्य राखिएको छ । अन्य वडामा महिनामा एक दिन गाडी पठाउने सोच रहेको भुसालको छ ।
कुस्मामा अभियान सञ्चालन गरेपछि मोदीमा पनि यसरी नै गर्ने प्रस्ताब आएको छ भने जलजला, पैंयुमा पनि कुराकानी भएको संयोजक भुसालले जानकारी दिए । जिल्लाका सातै तहमा अभियान लगेर जिल्लालाई खुल्ला प्लाष्टिक तथा बोत्तलमुक्त बनाउने लक्ष्य सेक्रेड नेपालको छ ।