बम विष्फोटपछि विराटनगरमा सुरक्षा सर्तकता बढाईयो


सरोज यादव, विराटनगर ।
विराटनगर महानगरपालिका कार्यालयभित्र गराइएको बम बिस्फोटको घटनापछि महानगरपालिका सहित अन्य सार्वजनिक क्षेत्रहरुमा प्रहरीले सतर्कता बढाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाले संवेदनशील स्थानहरुको पहिचानगरि प्रहरी परिचालन गरिएको बताए । उनले तालिम प्राप्त कुकरहरु परिचालन गरिनुका साथै थप चेकप्वाइन्टहरु स्थापना गरिएको जानकारी दिएका छन । घटना लगत्तै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा चारजनालाई सोधपुछ पछि छाडिएको र ४ जना अझैपनि अनुसन्धानकै घेरामा रहेको उनले जानकारी दिए । सो क्रममा महानगरपालिकाको मुलगेटमै प्रहरी खटाइएको प्रहरी र नगर रक्षकहरुले महानगरमा आउने सेवाग्राहीहरु चेक जांच गरेर मात्र भित्र प्रवेश दिइरहेका छन । यस्तै विराटनगर विमानस्थल प्रवेश गर्ने ब्यक्ति र सवारी साधनको पनि मेटल डिटेक्टरले चेकजांच गर्न थालिएको छ ।

यसैबीच घटनाको चौतर्फी आलोचना र भत्र्सना भएको छ । मानविय क्षति गराउने लक्ष्यसहित गराइएको बम बिस्फोटको नेपाल नगरपालिका संघ (मुआन)ले विज्ञप्ति जारी गरि भत्र्सना गरेको छ । मुआनद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको मनोबल गिराउन अराजक र निन्दनिय कार्य भएको उल्लेख गरिएको छ । यसैगरि केराबारी गांउपालिका,उर्लाबारी नगरपालिका सहित अन्य स्थानीय निकाय सहित विभिन्न संघसंस्थाले समेत विज्ञप्ति प्रकाशित गरि घटनाको भत्र्सना गरेका छन । आइतबार दिउसो दुइबजे विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष छेउमै गराइएको बम बिस्फोटबाट भौतिक क्षति भएको छ ।